मंगलबार डडेल्धुरा सदरमुकाम नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। से १ त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खस्दा एकजनाको घट्नास्स्थल मै मृत्यु भएको हो। जिल्लाको अमरगढी नगरपालिका–२ मा उक्त ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्माली गाउँका गणेशबहादुर ऐरको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। घाइतेको उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याइएको प्रहरी नायव उपरीक्षक नेपालले बताए। घाइते हुनेमा अमरगढी–२ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ३५ वर्षीय सुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका –६ कञ्चनपुरका ४० वर्षीय रामभरोसा राना रहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ट्याक्टर दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकोछ ।