बिदाइ सम्बोधनमा ट्रम्पले भने, ‘हामी जे गर्न आएका थियौं, त्यो गर्यौं’
बिदा हुँदै ट्रम्प नवनिर्वाचित बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै
आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले यूट्यूवमार्फत छोटो भिडियो सम्बोधन सार्वजनिक गरेका हुन् । सम्बोधनमा उनले भनेका छन्, ‘हामीले त्यही गर्यौं, जे गर्नका लागि आएका थियौं । अझ त्यो भन्दा पनि बढी गर्यौं ।’
‘यो कठिन लडाई थियो र कठिन भिडन्त रह्यो । तर मैले सामना गरें किनभने तपाईंहरुले मलाई यही गर्नका लागि निर्वाचित गर्नुभएको हो,’ भिडियोमा ट्रम्प अगाडि भन्छन । अमेरिका सबै राष्ट्रका लागि आशा, प्रकाश तथा गौरवको भूमि रहेको र रहनुपर्ने तर्क गरे । ट्रम्पले नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइ राख्न सफल होस भन्ने कामना पनि व्यक्त गरेका छन् ।
‘यही साता नयाँ राष्ट्रपतिको सपथ हुँदैछ। हामी अमेरिकी जनतालाई सुरक्षित र समृद्ध राख्न नयाँ प्रशासनलाई सफलता मिलोस् भन्ने कामना गर्छौं,’ उनले भने,’उनीहरूलाई हाम्रो शुभेच्छा छ र भाग्यले साथ देओस् भन्न चाहन्छौं।’
राष्ट्रपति चुनावमा धाधली भएको आरोप लगाउँदै आएका ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनका बारेमा थप केही बालेनन् र उनले बाइडेनको जितलाई स्विकार पनि गरेनन् ।
अमेरिकामा आज राष्ट्रपति ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदैछन् भने नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन् । नेपाली समयअनुसार आज मध्यरातमा बाइडेनले सपथ लिँदैछन् । शपथ ग्रहणलाई मध्यनजर गर्दै अमेरिकामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । शपथ समारोहमा सिमित मानिसलाई मात्र प्रवेश दिइनेछ ।
ट्रम्पको कार्यकालका अन्तिम २ साता संसद भवन (क्यापिटल हिल)मा भएको हिंसात्मक दंगाले प्रभावित बन्यो । उनका समर्थकले अमेरिकी कंग्रेसमाथि ६ जनाको ज्यान जाने गरी आक्रमण गरे, उनीहरु चुनावी परिणाम उल्टाउन चाहन्थे ।