स्वास्थ्यका दृष्टिले हानिकारक मानिएको ‘जङ्क फुड’लाई विद्यालयको कक्षाकोठाभन्दा बाहिरै राख्ने अभियान विद्यालयहरूमा सुरु गरिएको छ । यसको प्रयोगले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नुका साथै बढी खर्चिलो र पठनपाठनमा समेत प्रतिकूल असर पारेपछि घरमै बनाएको खाजा खुवाऔँ भन्ने अभियान अघि बढाइएको हो ।
कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका पौडेलका अनुसार विद्यार्थीलाई जङ्क फुड प्रयोगमा कडाइ गरिएको छ । विद्यालयमा आउने सबै विद्यार्थीलाई घरकै खाजा ल्याउनुपर्ने नियम बनाइएको छ । घरबाट ल्याउन सम्भव नहुने विद्यार्थीले विद्यालयमै बनाइएको खाजा खानुपर्ने नियम बनाइएको छ । थापाथलीस्थित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक नीता पोखरेलले विद्यालयमा आउने सबै विद्यार्थीलाई बजारबाट किनेर खाजा खान नपाइने र जे तयार हुन्छ घरबाटै ल्याउने नियम कार्यान्वयन गराइएको बताइन् ।
ललितुपरको भीमसेन आदर्श माविका प्रधानाध्यापक आत्मराम घिमिरेले अभिभावकलाई सचेत गराउन सकिएको अवस्थामा विद्यालयमा जङ्क फुड पूर्ण रूपमा निषेध गर्न सकिने अनुभव सुनाउँदै आफूहरूले विद्यार्थीलाई घरबाटै खाजा ल्याउनू भनेर अभिभावकसित समन्वय गरेको बताए । सरकारले यसै वर्षबाट कक्षा ५ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने घोषणा गरेको थियो तर सो घोषणा यस पटक कार्यान्वयनमा आउन सकेको छैन । उनले सरकारको दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याउन सकिए विद्यालयका कक्षाकोठामा जङ्क फुड पूर्ण रूपमा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र उप्रेतीले विद्यालयले बालबालिकालाई ‘जङ्क फुड’ ल्याउन रोक्ने मात्र नभई यसका नकारात्मक असरबारे विद्यार्थीलाई जानकारी दिनुपर्ने बताए । उनले अभिभावकलाई यस विषयमा सचेत गराउँदै विद्यार्थीले के खाइरहेका छन् भनेर चनाखो हुन सुझाव दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।