तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा

चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार एउटा भिडिओ कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ सञ्‍चारमाध्यमका अनुसार माले बुधबार एक सय जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेका छन् ।

चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा माले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

‘कोभिड-१९ महामारीपछि हामी फेरि भेट्नेछौं,’ माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट वार्षिक रुपमा उक्त कार्यक्रम गर्दै आएको छ । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो । कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ । लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित भएका थिए ।

Loading...
error: Content is protected !!