सडक आन्दोलन र निर्वाचन प्रक्रियामा संगसंगै अघि बढ्दै नेपाली कांग्रेस
निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिकमा सरिक हुन कार्यकर्तालाई निर्देशन
विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघनबिरुद्ध चरणबद्ध आन्दोलन पनि गर्दै आइरहेको छ । तर यसरी सरकारको संसद विघटन र निर्वाचनको घोषणाका विरुद्ध सडक संघर्ष गरीरहेको कांग्रेस भित्रभित्रै निर्वाचनको तयारीमा लागिसकेको सुन्दा जोकोहीलाई अचम्म पनि लाग्न सक्छ । तर वास्तविकता यही हो कि कांग्रेसलाई निर्वाचन लागिसकेको छ ।
कांग्रेसमा अहिले स्पष्ट रुपमा दुईवटा समूह देख्न सकिन्छ । पहिलो सभापति शेरबहादुर देउवाको समूह, जो प्रधानमन्त्री केपी शर्मा ओलीसंग बढी निकट सम्बन्ध राख्दछ, र सर्वोच्च अदालतमा मुद्धा विचाराधीन भएकै अवस्थामा सडक आन्दोलन धेरै चर्काउन नहुने पक्षमा छ । अर्कोतर्फ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बुझाई चाहिं प्रधानमन्त्रीको अहिलेको कदम पूर्णतः असंवैधानिक भएकाले सशक्त आन्दोलन गर्नुपर्ने र संसद पुनस्र्थापनामा नै जानुपर्ने छ । यी दुई बाटोमध्ये पार्टीको आधिकारीक धारणा कुन हो भनेर टुंगो लगाउनु पर्ने केन्द्रिय समिति बैठककै टुंगो छैन । पटक पटक केन्द्रिय समिति बैठक स्थगित हुँदै आएको छ ।
संसद विघटनको विरुद्ध आन्दोलनमै रहेको र अदालतको आदेश कुरीरहेको कांग्रेसले संगसंगै निर्वाचन आयोगले अघि बढाएको निर्वाचन प्रक्रियामा पनि सकृयताका साथ सहभागी हुन आफ्नो तल्लो निकायहरुलाई निर्देशन दिएको छ । आयोगले आगामी माघ १५ गतेदेखि २१ गतेसम्म सबै स्थानीय निकायहरुमा मतदाता नामावली अध्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकासंगै कांग्रेसले गएको माघ ५ गते सबै जिल्ला अध्यक्षहरुलाई परिपत्र गरेर मतदाता नामावली अद्यावधिक गर्नेसहितका आयोगका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएको छ ।
खटाई खटाई पाँच चरणमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै बिहीबार स्थानीय निकायका वडास्तरमा विरोध कार्यक्रम गर्न पुगेको कांग्रेसका दुई पक्षका नेताहरुले भेलामा गर्ने सम्बोधन पनि दुईखाले देखिन्छ । देउवा पक्षीय नेताहरु संसद पुनस्र्थापना हुँदा पनि र ताजा निर्वाचन हुँदा पनि कांग्रेसलाई नै फाइदा पुग्ने भन्दै संसदमा विचाराधीन मुद्धा प्रभावित गर्ने गरी आन्दोलन चर्काउनु आवश्यक नरहेको धारणा राखिरहेका छन् । अर्कोतर्फ पौडेल र उनीपक्षीय नेताहरु भने संविधान र ब्यवस्था नै धरापमा परेको बेलामा चुनाव भनेर हातमा दही जमाएर बस्न नहुने तर्क गरिरहेका छन् ।
तत्कालिक लोकप्रियताका लागि सडकमा औपचारिक आन्दोलन गरेपनि लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै निर्वाचन हो भन्ने कांग्रेसका लागि निर्वाचन हुँदै हुन्न र भाग नै लिन्नौं भन्न पनि शायद शोभा दिंदैन होला । त्यही भएर हुनुपर्छ, सडकमा आन्दोलनमै रहेको सन्देश दिइरहेकै बेला कांग्रेसले निर्वाचन तयारीलाई पनि गम्भीरताका साथ लिएको । त्यसो त अघिल्लो साता निर्वाचन आयोगले दलहरुसंग गरेको छलफलमा पनि कांग्रेसले निर्वाचनकै पक्षमा मत जाहेर गरेको थियो । बैठकमा सहभागी कांग्रेस नेता आनन्द ढुंगानाले आफ्नो पार्टी आयोगले संवैधानिक कर्तब्य र अधिकारभित्र रहेर निर्वाचनको तयारी अघि बढाउनुपर्ने पक्षमा रहेको बताएका थिए । आयोगलाई विना रोकटोक निर्वाचनको तयारी अघि बढाउन दिइनुपर्ने उनको भनाई थियो ।
यसरी एकातर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनका सम्बन्धमा कार्यकर्तामा देखिएको आक्रोशलाई सम्बोधन गर्न पनि पार्टीभित्र एकमत नहुँदा नहुँदै किस्ता किस्तामा सडक आन्दोलन गरिरहेको कांग्रेसले भित्रभित्रै बैशाखमा निर्वाचन भैहाले,त्यो आफ्ना लागि उपयुक्त अवसर हुने ठम्याईका साथ आयोगले अघि सारेका निर्वाचन कार्यक्रमलाई सफल बनाउन र पार्टीको आन्तरिक तयारी पनि क्रमशः अघि बढाउँदै लाने अघोषित नीति लिएको उसको पछिल्लो परिपत्रबाट स्पष्ट हुन्छ ।