बाग्मतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस
माघ १९ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए ।
उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका छन् । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ ।
पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो । बागमती प्रदेशमा १ सय १० जना प्रदेशसभा सदस्य रहेका छन् । अविश्वासको प्रस्ताव पारित हुनका लागि ५६ जना सदस्यले पक्षमा मतदान गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रमुख विपक्षी नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण छ । कांग्रेसले अहिलेसम्म प्रस्तावको पक्ष विपक्षमा जानेबारे निर्णय गरिसकेको छैन । प्रदेशसभाको आगामी बैठक माघ १९ गतेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत नेपालले जानकारी गराएका छन् ।