कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको सङ्ख्या ३२७ पुगेको प्रेस संयोजक, कोभिड–१९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली सङ्घका संयोजक चिरन शर्माले जानकारी दिए।
सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन्। यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो। गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।