“हुँदैन विहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।”
आज माघ १६ अर्थात राष्ट्रिय शहीद दिवस । देश र जनताका लागि हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरुको योगदानको स्मरण गर्दै उनीहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्ने दिन । तर १०४ वर्षे जहानिया राणा शासनको अन्त्यदेखि बैसट्ठी त्रिसट्ठीको दोस्रो जनआन्दोलनसम्म आइपुग्दा राजनीतिक परिवर्तन र समाज रुपान्तरणका लागि प्राण आहुति गर्ने सयौं शहीदका रगतको अपमान र अवमूल्यन मात्र भएको छैन,शहीद शब्दकै अवमूल्यन भइरहेको छ । नत राज्य र सरकारले माघ १६ का दिन शहीदका प्रतिमा र तस्वीरमा माल्यार्पण गर्ने बाहेक शहीदहरुप्रति गर्व गर्न लायक काम गरेको छ, नशहीद शब्दको साँचो अर्थमा प्रयोग नै । वास्तवमा अहिले पनि लेखको शुरुमा उद्धृत कवि भूपि शेरचनको कवितामा जस्तो शहीदहरु मरेर गएपनि मुलुक बन्न सकेको छैन । हुनत अहिलेसम्म दुई चार हैन, धेरै शहीदहरुको रगत देश परिवर्तनका खातिर बगिसकेको छ, तर नत शहीदका परिवार न आम नेपाली जनताले नै साँचो अर्थमा परिवर्तनको महशुस गर्न सकेका छन् ।
को हुन् शहीद ?
नेपाली बृहत् शब्दकोषका अनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति हुन् ।
नेपालमा शहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो शहीद मानिन्छ । पल्टनका लाहुरे थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो । त्यसयता राणाहरुबिरुद्धको पहिलो आन्दोलनको थालनी गरेका तत्कालीन प्रजापरिषद्का शुक्रराज शास्त्रीहरुलाई १९९७ सालमा मृत्युदण्ड दिएदेखि निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थपनार्थ वि.स.२०६२÷६३ को आन्दोलनसम्म आइपुग्दा नेपाल आमाका थुप्रै समूतहरुले यो देशका निम्ति बलिदान दिएका छन् । अहिले मनाइने गरेको शहीद सप्ताह र दिवसचाहिं सोझो रुपमा राणा शासनको अन्त्यका खातिर ज्यानको बाजी राखेर नेपाली जनतामा राजनीतिक चेत फैलाएबापत मृत्युदण्ड दिइएका चार शहीदहरुको शहादत प्राप्त भएको अवधिसंग सम्बन्धित छ । बि.सं. १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो । माघ १३ गते प्रजापरिषद्का संस्थापक धर्मभक्त माथेमाको सिफलको बकैनाको रुखमा झुण्ड्याएर हत्या गरियो । त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गङ्गालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए । यसरी आफूहरुको शासनसत्ताको जग हल्लाउन नेपाली जनतालाई पर्चा पम्पलेट बाड्दै, संगठित गर्दै हिंडेका प्रजापरिषद्का चार क्रान्तिकारी योद्धाहरुको राणा शासकले गरेको जघन्य हत्यापछि नेपालमा औपचारिक रुपमा चार शहीदको रुपमा दशरथ चन्द,शुक्रराज,धर्मभक्त र गंगालाललाई चार शहीदको रुपमा प्रजातन्त्र स्थापनापछि सम्मान दिन शुरु गरिएको हो ।
आधिकारीक तथ्यांक नै छैन, राज्यसंग
त्यसयता पनि २००७ सालमा राजा त्रिभूवनसंग मिलेर नेपाली कांग्रेस र कम्युनिष्टहरुले गरेको जनआन्दोलन, १७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती ब्यवस्था लादेपछि तीस वर्षसम्म भएका भूमिगत तथा सशस्त्र संघर्ष एवं त्यसको उत्कर्षका रुपमा भएको २०४६ सालको दोस्रो जनआन्दोलनका क्रममा सयौं राजनीतिक कार्यकर्ताहरुको राज्यपक्षबाट हत्या गरियो । २०५२ देखि माओवादीले संचालन गरेको १० वर्षे सशस्त्र युद्धदेखि राजा ज्ञानेन्द्रको शाही साशन ढाल्न बैसट्ठी त्रिसट्ठीमा भएको आन्दोलन अनि तराई मधेशमा भएको आन्दोलनसम्म आइपुग्दा थुप्रै नेपालीका छोराछोरीले परिवर्तनका लागि जीवन उत्सर्ग गरेका छन् । तर नेपालमा शहीदको संख्या यति नै हो भन्ने यकीन प्रमाण राज्यसंग पनि छैन । शहीदहरुको तथ्यांक राख्ने र शहीदका परिवारलाई राज्यका तर्फबाट उचित सम्मानको प्रवन्ध गर्ने गृह मन्त्रालयका अधिकारीहरु नेपालमा शहीद यति छन् भनेर ठ्याक्कै भन्न नसकिने बताउँछन् ।
जो पनि शहीद, जस्ता पनि शहीद ?
पछिल्लो समय शहीद शब्दको मूल्य नै खस्कँदै गएको इतिहाँस र राजनीतिक परिवर्तनका जानकारहरुको गुनासो छ । कमजोर राज्यब्यवस्था र भीडनियञ्त्रित गतिविधिहरु बढ्दै जान थालेपछि आपराधिक समूहले हत्या गरेका देखि सडक दुर्घटनामा मरेकासम्म अनि दुई फरक पक्षका राजनीतिक मुठभेडमा मारिएकाहरुसम्मलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलन गर्ने प्रचलन नै बसिसकेको छ, नेपाली समाजमा । निर्दोष नागरिकहरु कसैको वा कुनै पनि स्वार्थका नाममा मारिनु हुँदैन । राज्यले आम नागरिकको सुरक्षाको प्रत्याभूति गर्न सक्नुपर्दछ । तर गोलि लागेर मारिएका वा अनाहकमा हत्या गरिएका सबै शहीद हुन सक्दैनन् । देश र जनताका लागि भएको संघर्ष वा आन्दोलनका क्रममा परिवर्तनका पक्षमा आवाज उठाएकै कारण राज्य वा सत्तापक्षबाट मारिएका मारिएकाहरुलाई त्यो आन्दोलनको सफलतापछि शहीदको सम्मान दिनु जायज र उपयुक्त छ । तर ब्यक्तिगत रिसइवी, समूहगत हिंसा वा अन्य घटना दुर्घटनामा मरेकाहरुलाई पनि शहीद घोषणा गर्दै जाने हो भने आम नेपालीकै शीर शहीदको सम्मानमा नझुक्ने दिन आउन सक्छ । यसतर्फ राज्यमात्र हैन, शहीद घोषणा गर्न टायर बाल्ने, तोडफोड र राजमार्ग अवरुद्ध गर्नेहरुसमेतको ध्यान जान जरुरी छ ।
राज्य र सरकारको दायित्व
आज देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ । धेरै शहीदहरुको रगतले सिंचित भएर जनताका छोराछोरी नै राष्ट्रको सर्वोच्च पदमा पुग्ने ब्यवस्था स्थापना भएको छ । तर तीनै शहीदको रगतबाट प्राप्त उपलब्धिमा रमाइरहेको राजनीतिक दल र नेतृत्वले शहीदहरुलाई माघ १६ मा समेत राम्ररी सम्झन छोडेका छन् । दलैपिच्छेका आ आफ्नै शहीद घोषणा गर्ने होडबाजीले शहीदहरुप्रति अपमान भएको छ । अझै पनि राणा शासनदेखि गणतन्त्र स्थापनासम्मका आन्दोलनमा ज्यान उत्सर्ग गरेका शहीदका सन्तान र परिवारको अवस्था नाजुक छ । सशस्त्र युद्ध र जनआन्दोलनमा घाइते भएकाहरुले उचित उपचार र क्षतिपूर्ति नपाएको गुनासो गरिरहेका छन् । आम जनताको साथ र सहयोग एवं सयौं शहीदहरुको रगतबाट प्राप्त ब्यवस्था दलहरुको अकर्मण्यताका कारण राम्रोसंग संचालन नहुने तर फेरि तीनै नेताहरुको स्वार्थ सिद्धिका लागि जनता सडकमा गोलि थाप्न आइदिनुपर्ने आग्रह फेरि पनि सुनिन थालेको छ ।
अतः अबको आवश्यकता फेरि अर्को नेपाली आमाको काख नरित्तिने र चेलीको सिन्दूर राजनीतिक परिवर्तनका लागि नपुछिने वातावरण निर्माण गर्नु हो । राज्य र सरकारले हालसम्म देशका निम्ति बलिदान गरेका शहीदहरुको स्वतन्त्र र सर्वमान्य सूची सार्वजनिक गर्नुपर्दछ । सरकारका नीति कार्यक्रम र बजेटमा ती शहीदले पुर्याएका योगदानको स्मरण गराउने स्मारक निर्माणदेखि शहीदका सन्तति र परिवारलाई राज्यले नै अभिभावक बनेर संरक्षण र अवसर प्रदान गर्नुपर्दछ । अन्यथा माघ १६ मा शहीदगेट वा शहीद पार्कमा पुगेर १ मिनेट गरिने मौन धारणले शहीदका रगतको मूल्य किमार्थ चुकाउन सक्दैन ।