बिप्लव फकाउँदै ओली सरकारः असन्तुष्ट पूर्व माओवादीहरु बटुल्ने प्रयास
पूर्व लडाकुपछि अब बिप्लव फकाउने प्रयास
संसद विघटनसंगै विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सत्तापक्षीय ओली समूहले विगतमा माओवादी आन्दोलनमा रहेका र हाल राष्ट्रिय राजनीतिको मूलधारमा नरहेका शक्ति र ब्यक्तिहरुलाई आफूतिर आकर्षित गर्ने प्रयास तीव्र पारेको छ ।
पार्टी विभाजन हुँदा पूर्व माओवादीका अधिकांश ठूला नेता प्रचण्ड माधव समूहतिर लागेपछि ओली पूर्व माओवादीमा भूमिका नपाएकाहरुलाई समेटेर बलियो बन्ने प्रयत्नमा लागेका हुन् । यसको सिलसिला उनले पार्टी विभाजन भएलगत्तै विस्तार मन्त्रिपरिषद् पुनर्गठनबाट गरेका थिए । त्यतिखेर प्रचण्ड समूह छोडेर आफूलाई साथ दिन आएका सबैजसो नेताहरुलाई उनले मन्त्री बनाएका थिए । तत्कालीन एमालेदेखि नै आफूलाई निरन्तर साथ दिंदै आएका पुराना नेता कार्यकर्ता एकजना पनि नसमेटेका उनले टोपबहादुर रायमाझी, मणि थापादेखि प्रदेश सभा निर्वाचनमा पराजित भएका दावा लामासम्मका पूर्व माओवादीहरुलाई मन्त्रिमण्डलमा समेटे । आफ्ना विश्वासपात्र पूर्व एमालेहरुले जस्तोसुकै अप्ठेरोमा पनि साथ नछोड्ने बुझेरै हुनुपर्छ ओली यतिखेर धेरैभन्दा धेरै पूर्व माओवादीहरुको साथ लिने र आफ्नो पार्टीमा समेट्ने कसरतमा लागेका छन् ।
दोस्रो चरणः पूर्व लडाकु र अयोग्य बालसेना
ओली समूहले पूर्व माओवादीहरु बटुल्ने क्रममा पूर्व लडाकुहरु र बहिर्गमित जनमुक्ति सेनाको पुरै संगठन नै आफूभित्र समेट्ने प्रयास गरिरहेको छ । बागलुङका पूर्व माओवादी नेता लीलबहादुर थापालाई केन्द्रिय सदस्य बनाएर ओलीले पूर्व लडाकुहरु संयोजन गर्ने जिम्मा दिएका छन् । पार्टी फुटे यता निरन्तर माओवादी लडाकु र जनयुद्धका घाइतेका पक्षमा अभिब्यक्ति दिंदै आएका उनले लडाकुहरुको माग सम्बोधन गर्न मन्त्रिपरिषदबाटै चरणबद्ध निर्णय गरीरहेका छन् ।
पूर्व लडाकुहरु र बहिर्गमित जनमुक्ति सेनाले पनि सरकारको घोषणालाई सकारात्मक रुपमा लिंदै ओलीलाई साथ दिने घोषणा गरीसकेका छन् । घाइतेको उपचार, योद्धा परिचयपत्र लगायतका निर्णयले आफूहरुको मन जितेको उनीहरुको भनाइ छ । ओलीले पूर्व लडाकुहरुलाई केन्द्रिय कमिटी र महाधिवेशन आयोजक कमिटीमा उचित स्थान दिने समेत प्रतिवद्धता जनाएकाले यो समूह ओलीसंग बढी आशावादी देखिन्छ ।
तेस्रो चरणः बिप्लवसंग वार्ता प्रयास
कम्युनिष्ट आन्दोलन विभाजित भैरहेका बेला आफैंले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासंग वार्ताको हात अघि बढाएर ओली नेतृत्वको नेकपाले उसंग पनि सहकार्यको सन्देश दिन खोजेको छ । मंगलबार खानेपानी मन्त्री मणि थापाले जेलमै पुगेर विप्लव समूहका दोस्रो बरियताका नेता हेमन्तप्रकाश ओलीसंग वार्तामा आउन प्रस्ताव गरेका छन् ।
बिप्लव समूहले वार्ताका लागि आफ्ना सबै नेताहरु रिहाईको माग राखेको छ भने सरकारले पहिले हिंसात्मक गतिविधि त्यागेको घोषणा गर्नुपर्ने अडान लिएको छ । मंगलबारको वार्तामा भने बिप्लव समूहका नेता ओलीले आफू जेलमा रहेकाले पछिल्लो अपडेट थाहा नभए पनि महासचिव चन्द पनि वार्ताबारे सकारात्मक नै रहेको सन्देश मन्त्री थापालाई सुनाएका थिए ।
पार्टी विभाजनमा बहुमत नेताहरु प्रचण्ड माधव पक्षमा लागेपछि ओली राष्ट्रियताका सवालमा बिप्लवले लिएको अडानको प्रशंसा गर्दै क्रमशः उनलाई आफूतिर नजिक्याउने प्रयासमा छन् । यसका लागि पहिले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउने र त्यसपछि सम्भव भए पार्टी एकतासम्म गर्न सकिने ओलीको बुझाई रहेको ओली निकट नेताहरुको बुझाई छ ।
पूर्व एमालेहरुको पनि ठूलै हिस्सा प्रचण्डको नेतृत्व स्वीकार गर्दै अर्को खेमामा लागेपछि ओली समूहले भने विगतमा माओवादीमा भूमिका नपाएका, प्रचण्डले जिम्मेवारी नदिएर असन्तुष्ट बनेका वा माओवादीबाटै विभाजित भएर बनेका सानातिना समूह र ब्यक्तिहरुलाई आफूतिर समेट्ने रणनीति लिएको देखिन्छ । धेरै भन्दा धेरै पूर्व माओवादी समेट्नकै लागि ओलीले रामबहादुर थापा बादललाई जिम्मेवारी नै दिएका छन् ।
विगतमा एउटै माओवादी आन्दोलनमा भएपनि विभिन्न कारणले कालान्तरमा तितर बितर भएकाहरुलाई आफ्नो समूहमा बटुलेर ओलीले प्रचण्ड–माधवलाई टक्कर दिनसक्ने कम्युनिष्ट पार्टी निर्माण गर्न सक्लान् वा नसक्लान्, त्यो त समयले बताउँला । तर यतिखेर सरकारमा आफ्नो एकलौटी हालीमुहाली भएका बेला विभिन्न मागहरु पूरा गर्दै छरिएका पूर्व माओवादीलाई पार्टी प्रवेश गराउन भने ओली र उनको समूह भरपूर तागतसहित लागेकोमा कुनै दुईमत छैन ।