बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नहरुको खोजी गरेर कारबाही गर्न माग राख्दै नेविसंघले प्रदर्शन गरेको छ । आइतबार बिहान नेविसंघका सभापति राजीव ढुंगानालगायतका नेताहरुको अगुवाइमा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘फेरियो व्यवस्था, फेरिएन छोरीहरुको अवस्था’ लगायतका प्लेकार्ड बोकेर घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत लगाएका थिए । उक्त प्रदर्शनपछि कोणसभामा नेविसंघ अध्यक्ष ढुंगानाले घटनामा संलग्नलाई सरकारले तत्काल कारवाही गर्नुपर्ने बताए ।
महामन्त्री दीपक भट्टराईले यस्ता घटना दोहोरिरहेको तर सरकारले कारबाही नगरेको आरोप लगाए । ‘बारम्बार बलात्कार र हत्याका घटनाहरु दोहोरिरहेका छन्, सरकार कसैलाई कारबाही गर्दैन,’ उनले भने, ‘अपराधी खोज्न कतै जान पर्दैन केपीका आमसभामा नारा लाइरहेका भेटिन्छन् ।’
विद्यालयबाट फर्केकी भागरथीको स्थानीय सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनामा संलग्नको पहिचान भएको छैन ।