प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि संसद् भंग गरेको बताएका छन् । आफू नेतृत्वको सरकारले तीन वर्षको अवधिमा गरेका कामबारे सिंहदरबारबाट जानकारी दिँदै प्रधानमन्त्री ओलीले सकेसम्म अल्मल्याउने र नसके निहुँ खोजेर काम गर्न नदिइने गरेको बताए ।
उनले पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए । ‘राजजूत नियुक्त गर्न दिँइदैन । आफ्नै दलका सांसदले संसदीय समितिमा पुगेको प्रक्रिया अड्काउँछन् । विकासको गतिलाई अवरोध पुर्याइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यसखालका अफ्ठ्याराहरूबाट जानुपर्यो ।’
प्रतिनिधिसभालाई राजनीतिक अस्थिरताको खेल मैदान हुन नदिनका लागि र अन्य कुनै विकल्प नभएपछि विघटन गर्नु परेको उनको भनाई छ । त्यसो नगरेको भए अस्वस्थ राजनीतिक गतिबिधि बढ्ने र राष्ट्रिय राजनीति प्रदूषित हुने भएको हुँदा त्यसबाट मुलुकलाई बचाउन ताजा जनादेशमा जाने विकल्प रोजेको उनको दाबी गरे ।