नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार पनि विभिन्न कार्यक्रम गरेको छ । जसअन्तर्गत विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमन’लाई जुत्ता हान्ने कार्यक्रम आयोजन गरेको छ ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको हो । नारायणहिटी संग्रालयअघि ‘प्रतिगमन’को प्रतीक बनाइ जुत्ता हान्ने कार्यक्रम गरिएको प्रचण्ड–माधव अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।
‘प्रतिगमनविरुद्ध चरणबद्ध कार्यक्रमअन्तर्गत प्रतीक बनाएर जुत्ता हानिएको हो’ उनले भने, ‘संसद् विघटन असंवैधानिक छ कुनै पनि हालतमा हामीलाई स्वीकार्य छैन ।’ प्रतिगमन नसचिए जनताले जुत्ताको माला लगाउने दिन आउन सक्ने चेतावनी दिए ।
प्रतिगमनले नारायणहिटीअघि बसेर हुँकार गरेकाले यो ठाउँ रोजेको उनले बताए । संसद् विघटन विल्कुल गलत भएको र यसले राजनीति र व्यवस्थालाई असर पुर्याएको उनको भनाइ छ । ‘नाराणहिटीअघि बसेर प्रतिगमनले हुँकार गरेर आफ्नो कदमको बचाउ गरेकाले जुत्ता हान्ने कार्यक्रमलाई यही ठाउँमा गरेका हौँ’ उनले भने ।
कार्यक्रममा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘प्रतिगमन मुर्दावाद’, ‘केपी तेरो पाराले दुःख पायो साराले’ लगायत नारा लगाएका थिए ।