बिजी मल अगाडी निशुल्क खाना खुवाउने अभियानलाई मलेशियाबाट करिब २ लाख सहयोग

गत वर्ष चैत्र २२ गतेबाट संचालन भएको भोकालाई भोजन, प्यासीलाई पानी निशुल्क खाना वितरण अभियानलाई आर्थिक सहयोग प्राप्त भएको छ । विगत ११ महिनादेखि सडकमै रहेर खाना खुवाई रहेको जय महांकाल युवा समुहलाई मलेसियास्थित नेपालीहरुको द डबल दोर्जे टीमले एक लाख ७३ हजार रुपैयाँ नगद सहयोग गरेको हो ।

यस अभियानले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई लक्षित गर्दै मानिसहरू रोगले भन्दा भोकले नमरून् भन्ने उद्देश्यका साथ सडकमा अलपत्र परेका, सडक बालबालिका, ज्याला मजदुरी गर्ने, अशक्त, अपाङ्ग आदि वर्गलाई लक्षित गर्दै संचालन गरेका हो । आजसम्म यस अभियानको २९० औं दिन पुगेको छ । ११२ औ दिनसम्म काठमाडौंको विभिन्न स्थान जस्तै रत्नपार्क, पशुपतिनाथ, थापाथली, सिनामंगल, कलंकी, आदि स्थानमा संचालन गरेको र त्यसपश्चात् आर्थिक अभावको कारण नयाँ बसपार्कको बिजी मलमा मात्र वितरण गरिरहेको अभियानले जनाएको छ ।

अभियानले खाना वितरण मात्र नभएर अलपत्र परेकाहरुलाई घरपरिवारसम्म पुर्याउने र ब्ल्याङकेट वितरण अभियान पनि संचालन गरिसकेको जनाएको छ । सोही अभियानअन्तर्गत काठमाडौंमा अलपत्र परेका १९ जनालाई घरपरिवारसम्म पुर्याइसकेको अभियानका महासचिव मनिष विकले जानकारी दिए । उनले आफूहरुले यस खाना खुवाउने अभियानलाई निरन्तरता दिने बताएका छन् । साथै उनले सहयोगी मनहरुलाई पनि हार्दिक धन्यवाद दिँदै सहयोग गर्न चाहनेहरुले जय महांकाल युथ ग्रुपको नेपाल बैंक लिमिटेडमा भएको खाता नंं. ०५०००१०६८७८६६००००००१ मा रकम जम्मा गर्न सकिने समेत बताएका छन् ।

Loading...
error: Content is protected !!