नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले लोकगायिका तथा राष्ट्रिय सभा सांसद कोमल वलीमाथि सार्वजनिकरुपमा ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेका छन् । उनले हिजो एक कार्यक्रममा बोल्दै वलीले ‘सरक्क सारी सर्काएर पिँडुला देखाएको भरमा’ संसद बनेको दावी गरे ।
पन्तले आफ्नो पार्टीमा संघर्ष गरेका महिलाहरुले अवसर नपाएको चर्चा गर्ने क्रममा वलीको प्रसंग निकालेका थिए । उनको भनाइ जस्ताको तस्तै-
‘…छन्, महिलाहरु अहिले केपीतिर पनि लागेका छन् । वीसौं वर्ष विहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन् । तर, तीनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले यसो… केरे… कोमल वलीले यसो (सारी उचालेको हाउभाउसहित) सारी सरक्क सर्काएर गोडा, पिँडुला देखाएइदिए पछि संसद त तीनै भइन् ।’
पन्तको यस्तो अभिव्यक्तिमा सहभागीहरु हाँसेको र ताली बजाएको समेत सुनिन्छ ।
पन्तको उक्त टिप्पणीमाथि कोमलले आपत्ति जनाएकी छन् । उनले एउटा ट्वीट गर्दै पन्तलाई निच व्यक्तिको संज्ञा दिएकी छन् ।
वली लेख्छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ।पंतजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ ।’