मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, केही दिनभित्रै काठमाडौंवासीका धारामा पानी झर्ने
सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भएको भन्दै प्रधानमन्त्रीले दिए बधाई
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको छ । शनिबार काठमाडौंको सुन्दरीजलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर सुन्दरीजलमा पानी खसालिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौँवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताए । लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास थियो ।
पहिलो चरणमा काठमाडौँमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौँलाई खानेपानी पुग्ने बताए । सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भएको भन्दै ओलीले काठमाडौंवासीलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले लोकप्रिय काम गर्न थालेपछि आफ्नै पार्टीका साथीहरूले प्रधानमन्त्रीबाट हटाउन लागेको आरोप लगाए । २३ सिट जितेको कांग्रेससँग प्रधानमन्त्री बन्दिनुपर्यो भनेर एक हल बुढानीलकण्ठतिर लागेको उनको भनाइ छ ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहान स्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । सुन्दरीजलमा आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । वैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो ।