पुर्नस्थापित संसदको आजदेखी शुरु हुने अधिवेशनको पहिलो दिनमै मुठभेडको अवस्था आउने सक्ने देखिएको छ । बैठकका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको नेता र प्रमुख सचेतकका विषयमा बैठकको शुरुवातमै विवादको सम्भावना छ ।
नेकपाका दुई समूहले गरेका आआफ्नै निर्णयका आधारमा सभामुखले गर्ने व्यवहारलाई आधार बनाएर मुठभेडको अवस्था सिर्जना हुन सक्ने ओली निकट सांसदहरुको बुझाई छ । नेकपाको प्रचण्ड माधव समूहले संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको छ भने ओली पक्षले प्रमुख सचेतकमा देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गर्ने निर्णय गरेको छ ।तर, दुवै पक्षले गरेका निर्णय पार्टी औपचारिक रुपमा विभाजन नभएकाले राजनीतिक निर्णयको मान्यता मात्रै पाएको छ । निर्वाचन आयोगले नेकपा विवाद निरूपण नगरेकाले संसद् सचिवालयले ओलीलाई नेकपाको संसदीय दलको नेताकारूपमा चिन्छ भने देव गुरुङलाई प्रमुख सचेतकको रुपमा ।
संसद विघटनको निर्णयपछि ओलीसँग रुष्ट सभामुख अग्नी प्रसाद सापकोटाले प्रचण्ड माधव समुहले गरेको निर्णयलाई नै आधार मान्ने सोही अनुसार आजको बैठक अघि बढाउने आँकलनसहित ओली पक्ष यस्तो अवस्थामा आए मुठभेडमा जाने रणनीतिमा छ ।