बालाजु बाइपास सडक रातारात कालोपत्रे, स्थानीय विरोधमा

बालाजु बाइपासको बाटो कालोपत्रे गर्न लागेपछि स्थानीयले विरोध गरेका छन्। ३९ घर भत्काइएको विवादित ठाउँसमेतमा कालोपत्रे गर्न लागेपछि आइतबार राति स्थानीयले विरोध जनाएका हुन्।

हिजो दिउँसो नै बाटोको धूलो सफा गरेर बेलुकीतिर कालोपत्रे गर्न लागेपछि हामीले विरोध गरेका हौं,’ स्थानीय महेश्वर मानन्धरले भने, ‘सर्वोच्चले नै रोकेको ठाउँमा बलजफ्ती प्रहरी परिचालन गरेर कालोपत्रे गर्नु ठीक होइन।’

बाइसधारादेखि बाइपाससम्मको करिब दुई सय मिटर कच्ची बाटो कालोपत्रे गर्न लागिएको हो। तर आफ्नो जग्गासमेत पर्ने गरी रातारात कालोपत्रे गर्न लागेपछि स्थानीयहरू आन्दोलित भएका छन्। प्रहरीले काम भइरहेकाले स्थानीयलाई अगाडि नआउनुस् भन्दै रोकेको महेश्वरले बताए।

त्यहाँ कालोपत्र गर्नु तर विवादित क्षेत्रमा नगर्नु भन्दा पनि हामीलाई धकेल्दै काम अगाडि बढाए,’ उनले भने, ‘अहिले पनि त्यहाँ काम भइरहेकै छ।’

सडक बिस्तार गर्दा दुबैतर्फ ७–७ मिटर गर्न पर्नेमा एकातर्फ मात्रै डोजर चलाइयो।सर्वोच्चले ‘स्टे अर्डर’ दिएको भए पनि ३९ परिवारले आफ्नो घर गुमाए। स्थानीयले जग्गा भोगचलन र तिरो तिरेको कागजपत्र देखाएर आफ्नो हकदाबी गर्दै आएका छन्।

Loading...
error: Content is protected !!