पठाओको लोगो अंकित कपडा लगाउन रोक

पठाओ नेपाल प्रालिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडामा रोक लगाउने निर्णय गरेको छ।

कोरोनाको समयमा सरकारले जारी गरेको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।

पछिल्लो समयमा पठाओ सेवालाई थप ब्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार यस्तो निर्णय भएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

‘अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ’, बस्न्यातले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले राइड सेवा भने निर्वाध चल्ने बताएका छन्। सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने उनको भनाइ छ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार राइड (ट्याक्सी) सेवा सुरु गरेको हो।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको छ।

यता ट्याक्सी र पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको व्यवस्थापन गर्ने तयारी गरेको छ।

मंगलबार महाशाखामा ट्याक्सी व्यवसायीसँग छलफल गर्दै ट्राफिक प्रहरीले यसको व्यवस्थापनको तयारी थालेको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

सोमबार मात्र राजधानीमा पठाओ राइडर र ट्याक्सी चालकबीच झगडा भएपछि प्रहरीले यसको व्यवस्थापनमा चासो दिएको हो।

Loading...
error: Content is protected !!