प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको टोलीले बुधबार दुई जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक ९एसपी० रमेश बस्नेतका अनुसार एक महिला र एक पुरूषलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३९ वर्षीय माया तामाङ र रौतहट गुजरा नगरपालिका-२ घर भई कीर्तिपुर नगरपालिका-३ बस्ने ३५ वर्षीय गनबहादुर लोप्चान छन्।
एसपी रमेश बस्नेतका अनुसार बुधबार राति साढे ८ बजे काठमाडौं-१४ कलंकीस्थित फुटपाथमा मायाले नक्कली नोट प्रयोग गरी तरकारी किनेकी थिइन्।
प्रहरीले नक्कली नोटको प्रयोग गरेको भन्ने खबर पाएपछि हुलियाको आधारमा प्रहरीले मायाको खोजी गरेको थियो। उनको खोजी गरी प्रहरीले मायालाई पक्राउ गरेको थियो।
उनलाई नियन्त्रणमा लिँदा प्रहरीले पाँच सयको ९ थान नक्कली नोट बरामद गरेको थियो।
कालीमाटी वृत्तमा राखेर उनीमाथि थप अनुसन्धान गर्दा उनकै बयानको आधारमा प्रहरीले गनबहादुर लोप्चनको खोजी गरेको थियो।
राति नै कीर्तिपुरस्थित डेराबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनको कोठाबाट प्रहरीले ५१ वटा एक हजारको नक्कली नोट, ५७ वटा पाँच सयको नोट, दुइटा एक सयको नोट, प्रिन्टर, फोटोकपी पेपर, पेपर कटर, स्केल, चार वटा प्रिन्टर मसी, दुइटा मोबाइल र एउटा ल्यापटप बरामद गरेको हो।