थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाललाई किर्गिस्तानको यु-२३ टिमले गोलरहित बराबरीमा रोकेको हो।
बराबरीसँगै नेपालले अब फाइनल खेल्न आगामी शनिबार बंगलादेशसँग कम्तिमा बराबरी खेल्नु पर्नेछ। फाइनल आगामी सोमबार हुनेछ।
दशरथ रंगशालामा ६ वर्षपछि मैदान उत्रिएको नेपाली राष्ट्रिय टिम किर्गिस्तानको युवा टिमविरुद्ध फिनिसिङमा पटक पटक चुकेको थियो।
पहिलो हाफमा नेपालका अन्जन विष्ट गोल गर्ने अवसरमा चुकेका थिए।
खेलको ६६ मिनेटमा किर्गिस्तान १० खेलाडीमा सीमित बनेको थियो। ६६ मिनेटमा नेपालका फरवार्ड अभिषेक रिजाललाई फल गरेपछि किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिन दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएको थियो।
खेलमा नेपाली टिमले किर्गिस्तानविरुद्ध खेल नियन्त्रणमा लिएको थियो। तर फिनिसिङ्मा भने चुक्यो।
अब नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ। यसअघि पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० ले हराएको थियो।