जेठ १ देखि लाइसेन्स लिन नयाँ नियम, ट्रायलमा ७० अंक ल्याए पास

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ । यससँगै लाइसेन्सको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था आगामी जेठ १ गतेबाट लागू हुने छ ।

मापदण्ड परिवर्तन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएसँगै यस्तो व्यवस्था लागू हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा ट्रायलमा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ ।

अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ ।

अहिलेसम्म ट्राफिकले सिट्ठी फुकेर बोलाएपछि ट्रायल दिन जाने गरिएको भए पनि अब भने सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने छ ।

‘कुनै पनि सवारी साधन चलाउँदा डिजेल वा पेट्रोल छ, छैन, ब्रेकको अवस्था, हेलमेट लगाउनुपर्ने लगायत आधारभुत कुरामा ध्यान दिनुपर्छ । अब ट्रायलमा त्यो पनि समावेशमा हुन्छ,’ उनले भने ।

उनले अगाडि थपे, ‘कुन–कुन कुरा पुरा गर्नै पर्छ र कुन कुरा पुरा नगर्दा पनि हुन्छ त्योअनुसार नम्बर राखिन्छ।’

उनका अनुसार सुरूमा सबैलाई १ सय अंक नै दिइन्छ। त्यसपछि गल्ती गर्दा नम्बर काटिंदै जान्छ ।

६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रायल फेल हुन्छ भने सो सम्मको अंक ल्याउने ट्रायल पास हुन्छ ।

राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहा जाने समस्या देखिएकाले यसप्रकारको मापदण्ड ल्याउन लागिएको उनले बताए ।

उनका अनुसार ट्रायलका विभिन्न चरण अंकका आधारमा पास–फेल निधो गरिनेछ।

त्यस्तै लाइसेन्सको लिखित परीक्षामा पनि केही फेरबदल गरिएको छ ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी ५–५ अंकका जम्मा २० वटा प्रश्न सोधिनेछ।

लिखित परीक्षा प्रयोजनका लागि यातायात व्यवस्था विभागले ५ सय वटा वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गर्नेछ। सोही संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नेछ।

लिखित परीक्षाको समयावधि ३० मिनेटको हुनेछ। लिखित परीक्षामा न्यूनतम ८० अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ ।

Loading...
error: Content is protected !!