नारायणी अस्पतालमा थप १० श्ययाको आइसियु र १७ वटा आइसोलेशन वार्ड तयार

कोरोना संक्रमण बढ्न थालेपछि सावधानी अपनाउँदै अस्पतालहरु

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।

पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो ।

सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटरसहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण सहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न १७ श्ययाको आइसोलेशन वार्ड तयार पारिएको नारायणी अस्पतालका स्टोर इन्चार्ज सुशील यादवले जानकारी दिए । उनले वीरगञ्जको गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा सङ्क्रमित राखी उपचार गर्ने क्रममा खरीद गरिएका उपकरण लगायतका अन्य सामग्रीलाई नै प्रयोग गरी अहिले आइसियु र आइसोलेशन वार्र्ड तयार पारिएको बताए । तयार पारिएको आइसियु तथा आइसोलेशन वार्डलाई मंगलबारदेखि सङ्क्रमित राख्ने काममा प्रयोग गरिने स्टोर इन्चार्ज यादवले जानकारी दिए ।

नारायणी अस्पतालको आकास्मिक कक्ष सँगैको केठामा हाल चार सङ्क्रमित र १० शङ्कास्पद बिरामी राखिएको अस्पतालले जनाएको छ । आइसोलेशन तथा आइसियु वार्डका लागि छुट्टै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । गएको एक साताभित्र नारायणी अस्पतालको प्रयोगशालामा २४७ जनाको नमूना परीक्षण गर्दा ९५ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेका छन् । फेला परेकामध्ये ६८ जना पर्साका र बाँकी २७ बारा, रौतहट, सर्लाही र मकवानपुरका रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सोरजरोशन दासले जानकारी दिए ।

बितेको एक सातामा सबैभन्दा बढी  चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा र चैत २९ गते ६० जनाको नमूना परीक्षण गर्दा २८ सङ्क्रमित भेटिएको डा दासले बताए । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३५ सम्म रहेको चिकित्सकले जनाएका छन् ।

यसैबीच कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका पुरुषको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो । चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका उनमा सङ्क्रमण पुष्टि भए पछि थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा निरज सिंहले जनाकारी दिए । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका उनको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनलाई बचाउन नसकेको चिकित्सक सिंहको भनाइ छ ।

Loading...
error: Content is protected !!