लामो समयदेखि बिनासम्झौता सञ्चालन भैरहेका पुरानो बसपार्कनजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ वटा पसललाई काठमाडौं महानगरपालिकाले आज सिलबन्दी गरेको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि बिनासम्झौता सञ्चालन गरिरहेको र पटकरपटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि आज सिलबन्दी गरेको जानकारी दिए।
‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौं,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रूपमा व्यवस्थित गर्छौं।’
काठमाडौं महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरूको संघमार्फत् केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि सिलबन्दी गर्न बाध्य भएको उनले जानकारी दिए।
उनले काठमाडौं महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए।
नगरप्रहरी प्रमुख धनपति सापकोटाले पनि उनीहरूलाई पटक-पटक सूचना दिँदा पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिए।