नेपाली कांग्रेसको सरकार बने संगै कांग्रेसका सांसदहरु अहिले मन्त्री बन्न सक्रिय भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासंग मन्त्री बनाईदिन आग्रह गर्दै सांसदहरु अहिले शिर्ष नेताहरुको निवास धाईरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका सांसदहरु संगै महाधिवेसनलाई फाईदा हुनेगरि मन्त्री बनाउने रणनीति बनाएका छन् ।
कांग्रेस संस्थापन इतर समूहका प्रकाशमान सिंह र सुजाता कोईरालाले सरकारमा सहभागी हुन चाहेको निकट श्रोतको दाबी छ । सुजाता कोईरालाले उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीको चाहना राखेको बताईएको छ । प्रकाशमान र सुजाता कोईराला पहिला नै उपप्रधानमन्त्री भएका कारण उपप्रधान पाए मात्र सहभागी हुने भएका छन् ।
संसदमा नेपाली कांग्रेसलाई प्रतिनिधि गर्दै चर्को आवाज बोल्ने गरेका सांसद नारायण खड्का र पुष्पा भुसालको नाम पनि प्रधानमन्त्री देउवाले लिस्टमा राखेका छन् । पुष्पा भुसाल अहिले नेपाली कांग्रेसको सचेतक छिन् । नेपाली कांग्रेसको प्रमुख सचेतक बाल कृष्ण खाँणलाई गृहमन्त्री बनाएकाले देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक बनाउने तयारी गरिरहेका छन् ।
डा मिनेन्द्र रिजाललाई परराष्ट्र मन्त्री बनाउने मुडमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । नेता रिजालले उपप्रधान सहित परराष्ट्र दिन आग्रह गरिरहेको श्रोतको दाबी छ तर प्रधानमन्त्री देउवाले उपप्रधान बारे निधो गरिसकेका छैनन् । परराष्ट्र मन्त्रालय माथि जसपाका अध्यक्ष उपेन्द्र यादवको समेत दाबी रहेको बेला शेरबहादुर देउवाले कांग्रेस कै भागमा रहने भनेर निर्णय गरिसकेको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको लागि अर्को महत्त्वपूर्ण मन्त्रालय भनेको स्वास्थ्य मन्त्रालय हो । स्वास्थ्य मन्त्रालयमा गगन थापालाई ल्याउने सभावना बढी छ तर डा शशांक कोइरालाले उपप्रधान सहित उक्त मन्त्रालय मागेको कारण शेरबहादुर देउवाले गगन थापालाई सूचना तथा संचार मन्त्रालय दिने तयार गरेका छन् ।