आजदेखि उपत्यकाको निषेधाज्ञा सकिँदै, अब थपिन्छ कि थपिँदैन ?

काठमाडौं उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातिबाट सकिंदै छ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै थप्दै आज साउन १० गतेसम्म आइपुगेको हो। निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ।

यसबीचमा अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन ? भन्ने आम जिज्ञासा रहेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अहिलेसम्म यस विषयमा कुनै छलफल हुन नपाएको बताएका छन्।

‘अहिलेसम्म केही छलफल भएकै छैन, मन्त्री पनि नयाँ आउनुभएको छ, हामी सीडीओबीच पनि कुनै छलफल हुन पाएको छैन,’ उनले भने, ‘अब आज छलफल होला।’

अहिलेसम्म यसबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने समयसमेत तय भइनसकेको उनले बताएका छन। आज राति १२ बजेबाट निषेधाज्ञा अवधि सकिने भएकाले आज छलफल गरिने उनको अनुमान छ।

यसअघि निषेधाज्ञाको अवधि सकिनु एक दिनअगावै थप गर्ने विषयमा निर्णय गर्ने गरिएको थियो। यसबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्र लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरिसकेको छ।

Loading...
error: Content is protected !!