नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार बिहान भएको भेटमा नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले पेरिसडाँडामा बसेकव पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी दिएका छन्। उनले बैठकमा नेता नेपालको भागमा एकजना प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताए।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेका थिए। ‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ’, बैठकमा बोल्दै दाहालले भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ। सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ।’
यसैबीच माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको छ। बैठकमा आफ्नो भागमा परेको प्रदेश प्रमुखसहितका पदमा पठाउने व्यक्ति र मन्त्रिपरिषद् विस्तारबारे कुरा भएको थियो। तर मन्त्रिपरिषद्मा पठाउने थप सदस्यबारे भोलि निर्णय लिने तयारी माओवादीले गरेको छ।