सभापतिमा उम्मेदवारीको घोषणा गर्दै निधिले भने- मेरै नेतृत्वमा आउँदो चुनावबाट कांग्रेस पहिलो पार्टी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोल्दै उपसभापति निधिले आफू सभापतिको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताए । आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनले बताएका हुन् । आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको उनको भनाई छ । उपसभापति निधिले अघि भने, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’

निधिले काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन लागि पनि आफूले उम्मेदवारी दिएको धारणा राखेका छन् । उनले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन जनाउँदै क्रियाशील सदस्यताको सूची सार्वजनिक हुनुपर्ने बताए ।

निधिले ओली नेतृत्वको सरकारले संघीयता र गणतन्त्रलाई नै कमजोर बनाउन लागेको भन्दै अब कांग्रेसको सरकारले संविधानका उपलव्धीलाई रक्षा गर्ने जिकिर गरे ।

आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए ।

उनले भने,‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनाको विचमा गएर भन्न चाहान्छु, जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । त्यसको सफल सञ्चालन र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । त्यस कारणले अब तपाईहरुले ध्यानमा राख्नुहोला, मतदाता र जनतालाई भन्न सक्नुप¥यो, हामीले भन्छौँ अब भाँडभैलो हुदैनँ ।’

निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट सम्पर्क कार्यालयको उद्घाटन गरिएको निधिको सचिवालयले जनाएको छ ।

Loading...
error: Content is protected !!