प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ । बैठकमा मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल हुदैँछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् । बैठक आज बिहान ९:३० बजेदेखि जारी छ।
स्रोतका अनुसार मन्त्रिमण्डललाई आजै पूर्णता दिने सरकारको तयारी छ । गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ ।
पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) ले ६÷६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ । यद्यपि जनमोर्चाले सरकारमा नजाने भएको छ।