इजरायल जान दरखास्त दिएका श्रमिकको परीक्षा भदौ २८ गते हुने भएको छ ।
वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भदौ २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुनेछ । केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ । प्रवेश-पत्र अनलाइनमार्फत् उपलब्ध हुनेछ ।
भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ । सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ ।
इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।