काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ ।
मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले यस्तो निर्णय गरेको हो ।
करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डंगुर छन् ।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘हामीले गर्न सक्ने स्थानीयका समस्या भए हामी समाधान गर्छौं । हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’
उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । सिसडोलमा फोहोर व्यवस्थापनको काम २०६२ सालदेखि हुँदै आएको र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको भन्दै उनले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताए । शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले त्यहाँ जाने बाटो सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिए ।
‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति(सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउँछ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गरिनेछ ।’
पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए ।
‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौं । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेसम्म सम्झाइ–बुझाई गरेर शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ। भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ ।’