गगन थापाका कारण काँग्रेसमा सिटौलालाई मन्त्री छान्न सकस

सिटौलाले प्रधानलाई रोजेपछि थापाले भने- म बाहेक हुदैन

पार्टीभित्रका गुट उपगुटले दुई महिना पुग्नै लाग्दा समेत मन्त्रिमण्डल बिस्तार गर्न नसकेका प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः गुटअनुसार मन्त्रीको भागबन्डा मिलाउने भएका छन् । आफूले २ मन्त्री राखेर पौडेलसँग एक मन्त्री र एक राज्यमन्त्रीको नाम मागेका देउवाले कोइराला समूहबाट एक जना र सिटौला समूहबाट समेत एक जना मन्त्री बन्नेको नाम मागेका थिए ।

देउवाले नाम मागेपछि पौडेल र कोइरालाले मन्त्री बन्नेको नाम टुङ्ग्याइसकेका छन् भने सिटौलालाई भने गगन थापाका कारण सकस परेको छ । सिटौलाका भागमा परेको एक जनामा कसलाई पठाउने भन्नेमा सिटौला समूहभित्र अहिले चर्को विवाद छ । यो समूहमा रहेका भीमसेनदास प्रधान र गगन थापामध्ये सिटौलाले प्रधानलाई पठाउने तयारी थाले पनि थापाले आफैलाई अघि सार्नुपर्ने अडान राख्दा सिटौलालाई सकस परेको स्रोतको भनाई छ ।

यसअघि स्वास्थ्य मन्त्री बनेका थापाले आफूलाई यसपटक पनि स्वास्थ्य मन्त्रालयको जिम्मा दिन आग्रह गरेका थिए । तर देउवालाई स्वास्थ्य मन्त्रीमा थापालाई लैजान नसक्ने कुरा यसअघि नै सिटौलाले जानकारी गराइसकेका छन् । यस्तो अवस्थामा अन्य मन्त्रालयमा आफ्नो समूहबाट प्रधानलाई अघि सार्ने सिटौलाको तयारी थियो । पछिल्लो समय थापाले सिटौला समूहले पाउने जुनसुकै मन्त्रालय भएपनि आफूलाई अघि सार्नुपर्ने अडान सिटौला गुटको आन्तरिक बैठकमा राख्दै आएका छन् । यसले काँग्रेसभित्र गुट उपगुटका आधारमा मन्त्री छान्ने निर्णय गरेपछि पनि विवाद सकिएको छैन ।

सिटौला गुटबाट एक जनाको टुङ्गो लागे काँग्रेसबाट मन्त्री बन्नेहरु सबैको टुङ्गो लाग्ने बालुवाटार स्रोत बताउँछ । सत्तारुढ गठबन्धनबिच भएको सहमति अनुसार काँग्रेसले आफ्नो भागमा ६ मन्त्री पाएको थियो । यसअनुसार यसअघि नै २ मन्त्री नियुक्त भइसकेका छन् भने अब हुने मन्त्रिमण्डल विस्तारमा काँग्रेसका ४ जना थपिनेछन् ।

सत्ता साझेदार अन्य दलबिच कसले कुन मन्त्रालय लिने भन्ने विषय टुङ्गो लागिसकेकाले सम्भवतः यही हप्ताको अन्त्यमा मन्त्रिमण्डल विस्तार हुँदैछ । यसका लागि पौडेल समूहबाट दिलेन्द्र प्रसाद बडूलाई मन्त्री बनाउन लागिएको छ । सोही समूहले एक राज्यमन्त्री समेत पाउने भएकाले तेजुलाल चौधरी वा प्रमोद यादवमध्ये एक जना राज्यमन्त्री हुने छन् ।

कोइराला समूहले पाउने एक मन्त्रीका लागि सुजता कोइराला मन्त्री बन्ने भएकी छन् । पछिल्लो समय आफूलाई भिन्दै गुटका रूपमा सक्रिय पारेको प्रकाशमान सिंहको समूहलाई समेत देउवाले एक जना राज्यमन्त्रीको नाम दिन भनेका छन् । तर सिंह आफै मन्त्री बन्न खोजेको तर आफूले राज्यमन्त्रीमा अरूको नाम नदिने जवाफ देउवालाई दिइसकेको बालुवाटारनिकट स्रोत बताउँछ ।

Loading...
error: Content is protected !!