सङ्खुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या गर्ने व्यक्ति पहिचान भएको छ । घटनाको ५ दिनपछि संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक परिवारकै आफन्त लोक बहादुर कार्की भएको प्रहरीले जनाएको छ । उनलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम छ ।
२१ भदामा बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । प्रहरी स्रोतका अनुसार ५ दिनको अनुसन्धानपछि सामूहिक हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ परेका छन् ।
लोकबहादुरको साथबाट घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनी दीर्घ रोगी रहेको खुलेको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो ।
रगत लागेको कपडा र उक्त हतियारलाई प्रहरीले घटनाको महत्त्वपूर्ण ‘क्लु’ को रूपमा लिएको थियो । सो क्रममा प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । यस घटनामा भने प्रहरीले अरूलाई पक्राउ नगरेको बताएको छ । अभियुक्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोलीलाई हत्या गरेको बयान दिएका थिए ।
पक्राउ परेका लोकबहादुरको घर घटना घटेको घरबाट करिब १५० मिटरको दुरीमा रहेको प्रहरीले बताएको छ । हत्यारा कार्की बिहानै मृतकका घरमा खेत गोड्ने खेतालाका रूपमा आउने भने पनि नआएपछि विवाद सुरु भएको र सोही विवादका कारण ६ जनाकै हत्या गरेको बयान दिएका छन् ।
आफूले तेज बहादुरलाई मात्रै हत्या गर्न चाहेको तर प्रतिकारमा उत्रिएकाले श्रीमती र बुहारी रञ्जनाको हत्या गरेको पक्राउ परेका अभियुक्तले बयान दिएका छन् ।