उपत्यकाका डीसीसीएमसीको बैठक बस्दै, सङ्क्रमणको जोखिम मूल्याङ्कन गरिने

कोरोना सङ्क्रमणको जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न उपत्यकाका तीन जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक छुट्टाछुट्टै बस्ने भएको छ ।

काठमाडौं र भक्तपुर जिल्लाको आज बेलुका ३ बजे बैठक बस्दै छ भने ललितपुरको बैठक आज बस्ने सम्भावना न्यून रहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताए । ललितपुरको बैठक आज बेलुकाका लागि समय तय भएको भए पनि उच्च अदालतको बैठक रहेको कारण आज बस्ने सम्भावना न्यून रहेको प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी निषेधाज्ञाको अवस्था मूल्याङ्कनसहित असोज १ गतेबाट विद्यालय कसरी खोल्न सकिन्छ भन्ने सन्दर्भमा बैठक बस्न लागेको बताए । जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नभएको, भीडभााड निकै बढेको अवस्थामा अब कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा पनि छलफल गरिने उनको भनाई छ ।

विद्यालय खोल्नका लागि पूर्वतयारी पर्याप्त मात्रामा नपुगेको र बालबालिकाहरु पनि विद्यालयमा सुरक्षित भएर उपस्थित हुन सक्ने अवस्था नदेखिएकाले तत्काल विद्यालय खोल्ने सम्भावना न्यून रहेको उनले बताए । तर स्थानीय तहहरुको सुझावका आधारमा यसको निर्णय गरिने उनको भनाई छ ।

डीसीसीएमसीको बैठक सकेर भोलि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने तयारी रहेको काठमाडौंका प्रजिअ रिजालले बताए ।

Loading...
error: Content is protected !!