दशैंमा घर फर्किन ठाउँ–ठाउँमा सास्ती : सडक टालटुल पार्ने योजनामा वर्षा बाधक !

गत भदौ ३१ गते काठमाडौं आउने तथा बाहिरिने सवारी साधनहरू लामो जाममा फसे ।

अघिल्ला दिन काठमाडौंका लागि यात्रा तय गरेका यात्रीहरूले काठमाडौं आउन निकै सकस पर्‍यो ।

कारण थियो ठाउँ–ठाउँको पहिरो र बिग्रिएको सडक ।

सबैतिरको पहिरो छिचोल्दै काठमाडौं आइपुग्न लागेका यात्रीहरूलाई नौबीसेबाट नागढुंगा आइपुग्न निकै लामो प्रतीक्षा गर्नुपर्‍यो ।

नौबिसे र नागढुंगाको बीचमा सडक बिग्रिएको र रोडमै ठूलो मालबाहक ट्रक बिग्रिएपछि यात्रुहरू जाममा फसेका थिए ।

यति मात्र नभएर निर्माणाधीन सुरुङ मार्ग आसपासमा भएको हिलाम्मे सडकले पनि यात्रुहरूलाई सास्ती दियो । यो प्रतिनिधि घटना मात्रै हो ।

यस वर्ष पनि विगतमा जस्तै बाढी तथा पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा अन्य सडकहरू बिग्रिएका छन् ।

कतै सडकमा ठूल्ठूला खाल्डाखुल्डी छन् भने कतै हिलैहिलो  । दशैं नजिकिँदै गर्दा समेत वर्षा नरोकिँदा यात्रुहरूलाई थप सास्ती हुने देखिएको छ ।

सडक समयमै मर्मत हुन नसक्दा यात्रुहरूलाई सास्ती हुने भएको हो ।

निर्माण कार्यमा ठेकेदारको ढिलासुस्तीका कारण कतिपय सडक आयोजनाहरू अलपत्र छन् । कतिपय सडक भने विभिन्न समयमा आएको बाढी तथा पहिरोका कारण बिग्रिएका छन् ।

दशैंमा यात्रुलाई सास्ती ? 

पछिल्लो समय मुलुकका विभिन्न ठाउँका सडकहरू आंशिक तथा पूर्ण रुपमा बिग्रिएका छन् ।

कतिपय सडकहरू निर्माणको क्रममा रहेको भएपनि कतिपय निर्माण समयमै हुन नसक्दा अलपत्र छन् ।

काठमाडौंको चाबहिल–जोरपाटी सडकखण्ड, सातदोबाटो गोदावरी सडकखण्ड लगायत थुप्रै सडकहरू अस्तव्यस्त छन् ।

यस्तै उपत्यकाबाहिर पनि विभिन्न सडक खण्डहरू बिग्रिएका छन् ।

बल्खु–कुलेखानी सडकखण्ड, नागढुंगा–गल्छी सडक खण्डको बीच भाग, गल्छी –विदुर सडक खण्ड लगायतका सडकमा खाल्डाखुल्डी धेरै छ ।

यसबीचमा प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दशैँलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकहरूको निर्माण तत्काल गर्न सरकारलाई निर्देशन समेत दिइसकेको छ ।

वर्षाका कारण क्षति भएका सडकहरूको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न समितिले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो ।

कामचलाउ टालटुल पार्दै डिभिजन कार्यालय

दशैं नजिकिँदै गर्दा अहिले विभिन्न जिल्लामा छरिएर रहेका सडक डिभिजन कार्यालयहरूको ध्यान सडक टालटुल पार्नेमा छ ।

यद्यपि मौसममा सुधार नभएकाले टालटुल पारेर गाडी चलाउन पनि समस्या भइरहेको डिभिजन कार्यालयहरूले जनाएका छन् ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी अशोक यादवले आफू मातहतमा रहेका सडकहरू मर्मतको काम भइरहेको जानकारी दिए ।

उनका अनुसार अहिले काम चलाउ हिसाबले सडक टालटुल पार्ने काम भइरहेको छ ।

अहिले कालोपत्रे भइसकेको सडकमा खाल्डाखुल्डी नभएको भन्दै कतिपय खाल्डाखुल्डी रहेको ठाउँमा दशैंअगाडि नै टालटुल पार्ने उनले बताए ।

सुन्दरीजल, साँखुलगायतका सडक तथा अहिले कतिपय ठाउँमा काम भइरहेको समेत सूचना अधिकारी यादवले जानकारी दिए ।

‘मानिसलाई दुःख नहुनेगरी सडक बनिरहेको छ, पिचजस्तै चिल्लो त हैन, सहज बनाउने प्रयासमा छौँ,’ उनले भने ।

सडक डिभिजन कार्यालय नुवाकोटले नुवाकोट आउने/जाने यात्रुहरूलाई सहज बनाउन भन्दै खाल्डाखुल्डी टाल्ने काम गर्न लागेको जनाएको छ ।

नुवाकोटको छहरेदेखि गुर्जुसम्मको सडकमा खाल्डाखुल्डी धेरै रहेको र त्यसलाई अहिले कामचलाउ हुनेगरी टाल्ने काम भइरहेको छ,’ सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी द्रुणप्रसाद फुँयालले लोकान्तरसँग भने ।

मालबाहक ठूला सवारीसाधनहरूका कारण सडक बिग्रिएको भन्दै उनले दशैंसम्ममा ती सडकहरूको सामान्य मर्मत भइसक्ने दाबी गरे ।

उनले भने, ‘दशैंमा यात्रुहरूको सुविधाका लागि हामीले टालटुल मात्रै भएपनि गर्ने निर्णय गरेका छौँ ।’

यस्तै धादिङको गल्छीदेखि नुवाकोटको देवीघाटसम्मको सडकखण्डमा पनि बीच भागमा यात्रुहरूलाई सास्ती छ ।

निर्माणाधीन सडकका विभिन्न क्षेत्रमा हिलाम्मे भएपनि दशैंमा त्यसलाई केही कम गर्न हुन सक्ने सूचना अधिकारी फुँयालले बताए ।

यस्तै बुटवल नारायणगढ सडकखण्डमा पनि दशैँलक्षित सडक मर्मतको काम भइरहेको छ ।

नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले अहिले ठेकेदार कम्पनीले सडक मर्मत गरिरहेको लोकान्तरलाई जानकारी दिए ।

विगतमा नै मर्मत गर्नुपर्ने सडक ठेकेदार कम्पनीले मर्मत नगर्दा अलपत्र परेको थियो ।

अहिले भने उसले काम गरिरहेको र दशैँअगाडि नै मर्मत सक्ने लक्ष्य राखिएको सूचना अधिकारी आचार्यको भनाइ छ ।

सडक विभाग भन्छ: पानी परिरहेकाले काम गर्नै समस्या भयो

दशैँलक्षित सडक मर्मतका लागि प्रतिनिधि सभा अन्तर्गतको विकास समितिले पनि निर्देशन दिइसकेको छ ।

यद्यपि सडक विभागले भने अहिले मनसुन निस्क्रिय नभइसकेका कारण सडक मर्मतमा समस्या आएको बताउँदै आएको छ ।

सडक मर्मतका लागि सबै तयारी भइरहे पनि वर्षा नरोकिएकाले समस्या भएको विभागका प्रवक्ता शिवप्रसाद नेपाल बताउँछन् ।

उनका अनुसार, अहिले सबै सडक डिभिजन कार्यालयहरूले मर्मतको काम शुरू गर्न लागेका छन् । तर वर्षा नरोकिएकाले काम अगाडि बढाउन सकिएको छैन ।

विभागका प्रवक्ता नेपालले भने, ‘हामीलाई यसपटक प्रेसर छ । सडक बढी बिग्रिएको छ । एकदिन पानी पर्‍यो भने मर्मत रोकिन्छ । तर पनि सबै डिभिजन तथा कार्यालयहरूले मर्मतको काम शुरू गरिरहेका छन् ।’

उनले चन्द्रनिगाहापुर, पथलैया, नेपालगञ्ज, बुटवललगायत देशका विभिन्न ठाउँमा सडक मर्मतका लागि काम भइरहे पनि वर्षा नरोकिएकाले समस्या भएको बताए ।

विभागले दशैंमा करीब ८० प्रतिशतभन्दा बढी राजमार्ग खाल्डाखुल्डीरहित बनाउने लक्ष्य राखेको थियो । यद्यपि सो लक्ष्य पूरा हुनेमा शंका छ ।

विभागका प्रवक्ता नेपाल भन्छन्, ‘यस वर्ष निरन्तर वर्षा भइरहेको छ, र दशैँ पनि आइसकेको छ, त्यसैले लक्ष्यअनुरूप काम हुन्छ भन्नेमा भने शंका नै रह्यो ।’

यद्यपि चाडपर्वमा यात्रुहरूको सहजताका लागि सडक टालटुल पार्ने काम जसरी नि टुंगाउने प्रयास भइरहेको उनको भनाइ छ ।

सडक विभागका अनुसार अहिले करीब १० वटा राष्ट्रिय राजमार्गका विभिन्न क्षेत्र पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।

कतिपय मर्मत भइरहेको र कतिपय सडकको विकल्प खोजिरहेको विभागले जनाएको छ ।

यद्यपि ती सडकहरू अहिले नै सञ्चालनमा ल्याउन नसकिने देखिन्छ ।

गत असार १ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न सडकहरू क्षतिग्रस्त बनेको थियो ।

टालटुलका लागि पौने २ अर्ब बजेट !

सडक टालटुलका लागि अहिले बजेट पर्याप्त रहेको विभागले जनाएको छ  ।

सडक विभागलाई सडक बोर्डले मर्मतका लागि करिब १ अर्ब ७५ करोड रुपैयाँ बजेट दिएको छ । डिभिजन कार्यालयहरूलाई एक आर्थिक वर्षका लागि सो बजेट दिइएको हो ।

जुन बजेटले काम गर्नका लागि अहिले पर्याप्त रहेको सडक विभागका प्रवक्ता नेपाल बताउँछन् ।

Loading...
error: Content is protected !!