नेकपा एमालेमा उपमहासचिव हटाउने प्रस्ताव

आजबाट सुरु नेकपा एमालेको विधान महाधिवेशनमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । गोदावरीको सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो ।

अब उपमहासचिव पद नरहने भएपछि एमालेमा उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । विधान महाधिवेशनबाट यो प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव हुने छैनन्। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन् । नयाँ प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने ।’ साथै प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा ३ जना उपाध्यक्ष र ७ सचिवको प्रस्ताव राखेका थिए । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।

Loading...
error: Content is protected !!