दशैँ विदामा तारकेश्वर घुम्ने हो ? यी हुन् ५ उत्कृष्ठ गन्तव्य

विगत केही वर्षदेखि फस्टाउँदै आएको आन्तरिक पर्यटन अहिले कोरोना महामारीका कारण झन् आवश्यक बनेको छ । नेपालीहरू आफैँ जागरूक भएर आफ्नो देश,नगर गाउँ नघुमेसम्म विदेशीहरू तत्काल आइहाल्ने सम्भावना छैन । त्यसैले पनि नेपालीहरू आफ्नो देश,नगर गाउँ घुम्न आवश्यक छ ।

पर्यटन बजारलाई चलायमान बनाउन विभिन्न  ट्राभल कम्पनीहरूले आन्तरिक घुमफिरका प्याकेज’ बनाएका छन् । दशैँ तिहार जस्ता चाडको समयमा परिवारसहित मानिसहरू घुम्न निस्कने आशा गरिएको छ ।
घुमफिरका लागि अहिलेको मौसम उपयुक्त मानिन्छ । यद्यपि, यस वर्ष मनसुन अझै सक्रिय नै छ । तैपनि मनसुनसँगै आनन्द मानेर घुम्ने नेपालीका लागि अहिलेको समय अनुकूल नै हो भन्न सकिन्छ ।

तारकेश्वर महादेव स्थल 

तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा अवस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको सिमानाभित्र पर्ने तारकेश्वर महादेव स्थल धार्मिक तथा पौराणिक ऐतिहासिक स्थल हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थलबाट सजिलै काठमाडौँ उपत्यकालाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ। ऐतिहासिक पाँच माने जितपुरफेदीबाट आर्मी ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा जनै पूर्णिमाको दिन ठुलो मेला लाग्दछ ।

श्री स्वस्थानी व्रत कथामा वर्णन भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे भन्ने उल्लेख छ । तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ ।  मन्दिर जाने बाटोमा झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन्। साथै तारकेश्वर मन्दिरमा कबिरपन्थी सम्प्रदायका साधुहरू ध्यान गरी बस्ने ठुलो कुटी समेत रहेको छ । नववर्ष, एकादशी,हरितालिका तिज,शिवरात्रि, जनै पूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढा (टाढाबाट भक्तजनहरू यहाँ पूजा आराधना गर्ने र मेला भर्ने गर्दछन्।

तारकेश्वर महादेव मन्दिरको शिरोभागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर धौलेश्वर महादेवको शिवलिंगमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्य अवलोकन समेत गर्न सकिन्छ । यो स्थान आध्यात्मिक पर्यटन तथा प्रकृतिमा विचरण गर्न चाहने आन्तरिक र बाह्य पर्यटकको लागि एउटा अलौकिक गन्तव्य हो ।

 भ्यु टावर 

मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट जम्मा ७ किलोमिटरको दूरीमा रहेको ठाउँ हो तारकेश्वर – ५मा रहेको मुड्खु  । पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर मानिने र विदेशी पर्यटकको रोजाईमा पर्ने यो गन्तव्य सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । काठमाडौँ एकदमै प्रष्ट सँग देखिने यो ठाउँ बिहान गएर बेलुका फर्किन सकिन्छ ।

रातमा उतै बास बसेर भोलिपल्टको सूर्योदय हेर्छु भन्नेहरूका लागि वासस्थानको उपर्युक्त व्यवस्थासमेत छ । काठमाडौँ माच्छापोखरीबाट  तिनपिप्लेबाट को बाटो हुँदै १ घण्टा सार्वजनिक बसमा यात्रा गरेपछि  भ्यु टावर  पुग्न सकिन्छ । निजी सवारीमा पनि निर्धक्क पुग्न सकिने छोटो गन्तव्य हो मुड्खु ।

भुवनेश्वरी मन्दिर

राजधानी सहर काठमाडौँको बालाजुबाट करिब ६ किमी माथि तारकेश्वर नगरपालिका वडा नं ३ मा अवस्थित भुवनेश्वरी मन्दिर ऐतिहासिक स्थान हो। पाँचमाने भन्ज्याङलाई अङ्कमाल गरे झैँ देखिने भुवनेश्वर मन्दिर आसपासको भू(भाग प्राकृतिक सुन्दरताले भरपुर मात्र नभई आफ्नै खालका प्रकृतिगत विशेषताहरु सहित सजिएको छ ।

शिखर शैलीमा निर्माण भएको यस मन्दिरमा पुग्नका लागि तिनपिप्लेबाट पैदल यात्रा गर्दै सिँढी चढेर उकालो चढ्न सकिन्छ साथै ऐतिहासिक पाँच माने भन्ज्याङ हुँदै सवारी साधनमा समेत जान सकिन्छ । मन्दिरको पूर्वी भागबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्य तथा पश्चिमी तर्फबाट नुवाकोटको दृश्यावलोकन गर्न सकिन्छ।

यो मन्दिर आसपास रहेको ठाउँलाई पहिले राजपुर पाखो भनिन्थ्यो। वर्तमान अवस्थामा भुवनेश्वरीको भव्य मन्दिर रहेको यस स्थानमा प्राज्ञ व्यक्तित्व श्यामवालाको उपस्थिति रहेदेखियता मानिसहरुकोआवागमन बढेको छ। इतिहासलाई केलाउँदा यो स्थान मध्यकालिन काठमाण्डौं उपत्यकाको पश्चिमी सुरक्षा केन्द्रको रूपमा यो स्थान रहेको प्राचीन दस्ताबेजले देखाउँछ ।

शान्तिधाम 

हिन्दु धर्ममा आस्था राख्ने हरेकले आफ्नो जीवनमा एक पटक चारधाम पुग्नै पर्ने मान्यता छ। यसरी जनै पर्ने मध्येको एक भनी स्थानीयले परिभाषित गर्ने गरेको बद्री नारायणको मन्दिर काठमाडौँ महानगरपालिकाबाट करिब ७ किमीको  दुरीमा तारकेश्वर नगरपालिकाको वडा नं २ स्थित काभ्रेस्थलीको उच्च भागमा अवस्थित छ।

तारकेश्वर महादेवको मन्दिर, भुवनेश्वरी मन्दिर, बरुणेश्वर महादेवको मन्दिर, महांकाल मन्दिर तथा प्राचीन बुढानिलकण्ठमन्दिर नजिकै रहेको यो स्थान अत्यन्त रमणीय छ। जसलाई शान्तिधाम को नामले पनि चिनिन्छ। नेपाली भूमिमा रहेका चारधाम मध्ये एक यो रहेको मानिन्छ । यहाँ निकै आकर्षक शैलीमा बद्री नारायणको मन्दिर निर्माण गरिएको छ । साथै  यस शान्तिधाम आसपासमा  अन्य तीन धामको पनि निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

पाँचमाने भन्ज्याङ

काठमाडौँ उपत्यकाका साँगा, बाडभञ्ज्याङ, पाटीभञ्ज्याङ जस्तै पाँच माने भन्ज्याङ पनि एउटा ऐतिहासिक भन्ज्याङ हो। काठमाडौँको उत्तर(पश्चिमतिर अवस्थित पाँच माने भञ्ज्याङबाट काठमाडौँ उपत्यका लगायत काभ्रे, सिन्धुली, धादिङ नुवाकोट जिल्लाका केही स्थानको सहजै दृश्यावलोकन सकिन्छ । यो भन्ज्याङ पञ्चबुद्धसँग सम्बन्धित स्थान हो।

नेवारी संस्कृतिमा भने यो स्थल नागमणिका रूपमा लोकप्रिय छ । विक्रम संवत् २०१७ सालपूर्व काठमाडौँ उपत्यकाबाट पश्चिमतिर गोर्खा, लमजुङ, कास्की, पाल्पा, उपल्लो नुवाकोट, सल्यान, प्युठान र हुम्ला जुम्लासम्म ओहोर(दोहोर गर्ने मूल बाटो पाँच माने भन्ज्याङबाट  नै थियो। केही वर्ष पहिले पाँचमानेमा मानाङ्क मुद्रा समेत फेला परेको थियो। जसका कारण पाँचमानेको अस्तित्व लिच्छवि कालदेखि नै भएको र यो त्यति बेलादेखि नै प्रमुख व्यापारिक केन्द्र भएको अनुमान गर्न सकिन्छ ।

भोट र तिब्बतसँग व्यापारको प्रमुख मार्ग पनि पाँच माने नै रहेको पाइन्छ । लिच्छवि, मल्ल तथा शाह कालसम्म पनि पाँच माने व्यापारिक दृष्टिले महत्त्वपूर्ण मार्ग नै रह्यो। हाल पाँचमानेबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै नुवाकोटको पर्यटकीय स्थल ककनीसम्म हाइकिङ गर्न समेत सकिन्छ । नेपाली फौजले चिनिया  फौजलाई काठमाडौँ उपत्यका पस्न नदिई हराएको स्थानको रूपमा समेत परिचित पाँच माने भन्ज्याङको विशेष ऐतिहासिक महत्त्व छ ।

 

 

 

 

Loading...
error: Content is protected !!