आज र भोलि तारकेश्वरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि देशभरका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर यो वर्ष भने दशैंको बिदा पर्न गएकोले ४ दिन ढिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । यस्तै २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ ।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

Loading...
error: Content is protected !!