नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज (मंगलबार) बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो।
विशेषगरेर बन्दको कारण सबारी साधन नचल्दा यात्रुहरुले सास्ती पाएका छन्।
काठमाडौँ उपत्यकामा बिहानैदेखि गाडी नचल्दा उपत्यका बाहिरबाट राजधानी भित्रिएका यात्रुहरुको बिचल्ली भएको छ। उनीहरु रातिदेखि नै सवारी साधनको प्रतिक्षामा सडकमा बसेका छन्।
बिहानैदेखि काठमाडौँ उपत्यकाबाट लामो गन्तव्यका लागि छुट्ने कुनै पनि सबारी साधन नचलेका नागढुंगा प्रहरीले जनाएको छ।
प्रहरी प्रभाव नागढुंगाकी प्रमुख प्रहरी निरीक्षक निरु दुवालका अनुसार गएराति फाट्टफुट्ट रुपमा सवारी साधन चलेका भए पनि आज बिहानबाट भने नागढुंगा नाकाबाट सबारी साधनको आवतजावत ठप्प छ।
बन्दको कारण राजधानीमा पसलहरु पनि खुलेका छैनन्। उपत्यका बाहिरका पनि बन्दको प्रभाव परेको छ। विशेष गरेर सार्वजनिक सबारी साधनमा बन्दको प्रभाव परेको छ।