आजदेखि ई-पासपोर्ट, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्दै

के - के छन् सुविधा ?

सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ । ई-पासपोर्टको औपचारिक उद्घाटन आज परराष्ट्रमन्त्री डा नारायण खड्काले गर्दैछन् ।

त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए । शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने विभागले जनाएको छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन् ।

समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।

महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् । विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ । पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताए ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपैयाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

Loading...
error: Content is protected !!