नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
बागमती प्रदेश सभापति पदका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आ-आफ्ना उम्मेदवार अगाडि सारेका छन्।
सभापति देउवा पक्षबाट मकवानपुर सभापतिसमेत रहेका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ प्रदेश सभापति पदका उम्मेदवार छन्।
वरिष्ठ नेता पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी प्रदेश सभापतिका उम्मेदवार छन्।
यस्तै पूर्वमहामन्त्री सिटौला पक्षबाट भीमसेनदास प्रधान प्रदेश सभापतिका उम्मेदवार छन्। तीनै जना उम्मेदवारले प्यानलसहित नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ। यही मंसिर १८ मा चुनाव हुनेछ।
प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्।
प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुन: मतदान गर्नुपर्ने व्यवस्था छ। अरू प्रदेशमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ तर उम्मेदवारको तय भइसकेको छैन।