शनिबार मध्यरातमा तारकेश्वरमा एक जनालाई खुकुरी हानेर भाग्दै गरेकालाई समाउन खोज्दा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ ।
रामेछापका शनि तामाङको खुकुरी प्रहारबाट दोलखा चरिकोट गाउँपालिका–१ का सुवास तामाङ र महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायब निरीक्षक पदम अवस्थी घाइते भएका हुन् ।
प्रहरीका अनुसार तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा रामेछापको मन्थलीस्थित लिखु गाउँपालिका घर भई हाल तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले सुवास तामाङलाई खुकुरी प्रहार गरेका थिए । उनको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको छ । उनीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
तामाङलाई घाइते बनाई भाग्ने क्रममा लखेट्दै जाँदा महानगरिय प्रहरी वृत्त बालाजु दरबन्दी भई हाल महानगरी प्रहरी प्रभाग धर्मस्थलीमा कार्यारत प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत खुकुरी प्रहार गरेका थिए । अवस्थीको टाउकोमा चोट लागेको र उनको नेपाल प्रहरी अस्पतालमा उपचार थालिएको छ । खुकुरी प्रहार गर्ने तामाङ प्रहरीको नियन्त्रणमा आइसकेको र उनीमाथि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।