एमाले नेकपाकै निरन्तरता हो : एमाले नेता थापा

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेशका सहइन्चार्ज लिल बहादुर थापा मगरले नेकपा एमाले नेकपाकै निरन्तरता भएको बताएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको विधान महाधिवेशनले एमालेलाई नेकपाकै निरन्तरताका रुपमा अगाडि बढाउने निर्णय गरेको बताए । एमालेमा माओवादी केन्द्र र एमालेका नेता तथा कार्यकर्ताहरु रहेकोले अहिलेको एमालेमा नेकपाको स्वरुप रहेको उनले बताए । कानुनी हिसाबले एमाले भए पनि राजनीतिकरुपमा अहिलेको एमाले नेकपाकै निरन्तरता भएको उनको भनाइ छ । ‘अहिलेको एमाले पहिलाको जस्तो एमाले होइन’, उनले भने, ‘अहिलेको एमाले क्रान्तिकारी एमाले हो ।’

थापाले पार्टीको विधान महाधिवेशनले तीन मुख्य विषयमा पार्टीलाई केन्द्रित गरेको बताए ।

पार्टीको पुनर्निर्माण, निर्वाचनको तयारी र विकास अभियान अगाडि बढाउने विषयलाई तत्कालको कार्यदिशाका रुपमा पार्टीले लिएको उनले बताए । पार्टीको पुनर्निर्माणअन्तर्गत पार्टी सदस्यता १० लाख बनाउने, निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्ने र विकास गर्ने एकमात्र पार्टी एमाले हो भन्ने जनतालाई अनुभूति गराउन विकास निर्माण अभियान सञ्चालन गर्ने काम सुरू भइसकेको नेता थापाको भनाई थियो ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेको भविष्य उज्यालो रहेको बताए । आन्तरिक संघर्षलाई बिट मारेर एकअर्कामा समझदारी निर्माण गर्न सके एमालेको भविष्य उज्यालो रहेको उनको भनाइ छ । एमालेको जित सुनिश्चित गर्न एकता र समझदारी आवश्यक रहेको भन्दै उनले जित्ने गरी सक्रियता बढाउनुपर्ने बताए ।

Loading...
error: Content is protected !!