बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ ।
बङ्गलादेश गोजुरियो कराते महासङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त गरेका छन् । डिजेनले कुमिते र कातामा गरी दुई स्वर्ण जितिन ।
पासाङले ७० किलो तौल समूहको कातातर्फ तथा ग्याल्मोले ३५ किलो तौल समूहको कुमितेतर्फ स्वर्ण प्राप्त गरेको उमेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार नेपाली टोलीले थप दुई रजत र पाँच कास्य पदकसमेत प्राप्त गरेको छ । पासाङ तामाङले ७० किलो र राजदेव बमजनले ६५ किलो तौल समूहको कुमितेतर्फ रजत प्राप्त गरेका हुन् ।
त्यसैगरी रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोकाले ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविना सुनारले ४५ किलो तथा उमङ्ग बुढाथोकीले १४ वर्षमुनि उमेर समूहमा कास्य पदक प्राप्त गरेका छन् । रामकुमार श्रेष्ठ टीम म्यानेजर रहेको सो टोलीको प्रशिक्षकमा श्याम रोका थिए भने निर्णायकको भूमिकामा एसियन रेफ्री छत्र बहादुर आले मगर, मिङ्मा तामाङ शेर्पा ,गंगा लाल श्रेष्ठ, नारायण श्रेष्ठ ,प्रकाश तामाङ लामा रहेका थिए ।