काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै काठमाडौंमा चुनावी सरगर्मी बढेको छ । यहाँका स्थानीय तहहरूमा उम्मेदवारी घोषणा समेत सुरु भइसकेको छ । राजनीतिक पार्टीहरुले चुनावी विषयमा आन्तरिक छलफल गर्न थालेका छन् ।
यसैक्रममा तारकेश्वर नगरपालिकामा पनि चुनावी माहोल तातेको छ । यहाँ विभिन्न दलका नेताहरुले उम्मेदवारी घोषणा गर्नेक्रम बढेको छ । गत निर्वाचनमा तारकेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता रामेश्वर बोहोरा बिजयी भएका थिए । बोहोराले गत निर्वाचनमा ९ हजार ७४६ मत पाएका थिए, भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीराम थापाले ७ हजार ७५७ मत पाएका थिए । उनी यसपटक पनि दोहोरिने तयारीमा रहेका छन् । तर उनलाई यसपटक टिकट पाउन भने त्यति सहज छैन । नगरपालिकाको मेयरमा एमालेबाट बागमती प्रदेश सचिवाल सदस्य श्याम घिमिरेले पनि दाबी गरेका छन् । तारकेश्वर नगरपालिका वडा न ३ का स्थायी बासिन्दा रहेको घिमिरे कुनै पनि हातलमा व्याक नहुने पक्षमा देखिन्छन् । उनले उम्मेवारी दिने घोषण समेत गरिसकेका छन् ।
यस्तै नेपाली कांग्रेसमा पनि आंकाक्षीहरुको चर्चा सुरु भएको छ । नगरपालिकाको मेयरमा यसपटक मनोहरि तिवारी,इच्छाराम कार्की र कृष्णहरि मर्हजनको नाम चर्चामा रहेको छ । तिवारी वडा नं. ३ का वडा अध्यक्ष भइसकेका व्यक्ति हुन् । आफु सफल वडाअध्यक्ष भइसकेका कारण अब मेयरको लाइनमा उभिएको उनी बताउँछन् । स्थानीय सरकारको पहिलो कार्यकालको अनुभव सम्हालेकाले आफु नगर प्रमुखका लागि उपयुक्त उम्मेदवार भएको उनको दाबी छ । यस्तै नगरपलिकाको मेयरमा इच्छाराम कार्कीले पनि आकांक्षा देखाएका छन् । कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कार्की लामो समयदेखि राजनीति मार्फत सामजसेवामा सक्रियत रहदै आएका छन् । उनी कांग्रेसको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा दोस्रो लोकप्रिय मत प्राप्त गरि विजयी भएका थिए । यस्तै कांगे्रसबाट युवा नेता कृष्णहरि मर्हजनले पनि नगरपालिकाको मेयरमा दाबी गरेका छन् ।
यता नेकपा माओवादी केन्द्रबाट तारकेश्वर नगरपालिकाको मेयरमा रामकुमार थापाको नाम चर्चामा रहेको छ । उनी २०३९ सालदेखि निरन्तर वाम राजनीतिमा सक्रिय थापा पछिल्लो समय तार्केश्वर नगरपालिकामा माओवादी केन्द्र अध्यक्षको रुपमा सक्रिय रहदै आएका छन् । थापा माओवादी केन्द्रबाट नगरपालिकाको मेयरका बलिया उम्मेद्वार हुन् ।
यस्तै एकीकृत समाजवादीबाट नगरपालिकाको मेयरमा लव कुमार बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले २०७४ सालमा स्थानीय तहको निर्वाचनमा मेयरमा दाबी गरे पनि टिकट पाएका थिएनन् । उक्त चुनावमा नेकपाको गठबन्धन भएकाले पार्टिले टिकट दिएको थिएन । त्यसैले पनि यो पटक उनले टिकट पाउँने बलियो सम्भावना रहेको छ । बस्नेत नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य तथा तारकेश्वर नगर कमिटीका बर्तमान अध्यक्ष हुन् ।