शिवपुरी गाउँपालिकामा कर्मचारीको मनपरीतन्त्र, सेवाग्राहीलाई सास्ती
कार्यलय नै रित्तो बनाएर कर्मचारी विदामा, गाउँपालिका अध्यक्ष बेखबर
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकाका कर्मचारीहरु कार्यलय नै रित्तो बनाएर विदामा बसेका छन् । गाउँपालिका नै रित्तो बनाएर कर्मचारी विदामा बसेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । विभिन्न कामका लागि दैनिक सयौंको संख्यामा गाउँपालिका आउने सेवाग्राहीहरु रित्तो हात नै फर्कने गरेका छन् । अत्यन्तै जरुरी काम लिएर गाउँपालिका पुग्नेहरुको समेत काम हुन सकेको छैन । शुक्रबार शिवपुरी गाउँपालिकामा पुग्दा त्यहाँ धेरै जसो कार्यलय बन्द थिए । गाउँपालिकामा एक जना निमित्त अधिकारी सहित तीन जना कर्मचारी मात्र उपस्थित थिए । आइतबार पनि त्यहाँ न्यून संख्यामा कर्मचारी उपस्थित थिए । गाउँपालिकामा जम्मा ३९ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ११ जना सरकारी दरबन्दीका हुन भने अन्य कर्मचारी करार दरबन्दीका हुन् ।
निमीत्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र प्रसाद भट्टलगायत १९ जना कर्मचारी एकै पटक विदामा बसेका छन् । निमीत्त प्रशासकीय अधिकृत भट्टले पनि निमित्त प्रशासकीय अधिकृतको रुपमा विष्णु न्यौपानेलाई जिम्मेवारी दिएर विदामा बसेका हुन । उनले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी तोक्दा समेत विदा बस्ने समय तोकेका छैन । यस बारे गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई फोन गरि बुझ्दा उनले निमत्त प्रशासकीय अधिकृत भट्ट १५ गते सम्मलाई विदा बसेको तर अन्य कर्मचारीको विषयमा जानकारी नभएको बताए । निमित्त प्रशासकीय अधिकृत भट्ट परीक्षाको लागि गाउँपालिकाको काम नै प्रभावित हुने गरि विदा बसेका हुन् ।
यता गाउँपालिकाका कर्मचारीले आफ्नो समस्या सुनुवाई नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाग्राहीहरु काम लिएर कार्यलय पुग्दा कर्मचारीहरुले वेवस्ता गर्छन । सेवाग्राहीको काम सहि समयमा, सहि तरिकाले नगर्ने, हेलचेक्राई गर्ने गरेको समेत पाइएको छ । जनतालाई सेवा दिनको लागि स्थानीय प्रशासन तयार भएका हुन् । स्थानीय प्रशासनले जनताको काम सहि तरिकाले गर्नु पर्दछ । तर शिवपुरी गाउँपालिको हकमा त्यस्तो छैन । त्यहाँ सेवाग्राहीलाई कसरी सुविधा दिने भन्नुको साटो त्यहाँका कर्मचारीहरु कसरी दुख दिने भनि व्यवहार गरेका पाइन्छ । एक दिनमा हुने काम शिवपुरी गाउँपालिकामा ५ दिन लाग्छ । १० मिनेटमा हुने कामको लागि एक दिन नै कुर्नु पर्दछ । यसबारेमा विदामा बसेका प्रशासकीय अधिकृत भट्टसँग कुराकानी गर्दा त्यस्तो नभएको जवाफ फर्काए । उनले आफुले सेवाग्राहीहरुको काम विना अबरोध र समयमा नै भएको दाबी समेत गरेको छन् । साथै भट्टले सेवाप्रवाहमा कुनै कमीकमजोरी भएको भए सुधार्ने समेत बताएका छन् ।