हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले आइतबार राजधानीमा एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसङ्ग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को विमोचन गनुभयो ।
नौ वटा गीत रहेको विमोचित सङ्ग्रहका सबै गीतहरू शब्द र गायनका हिसावले राम्रो रहेको अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले बताउनुभयो ‘आजकाल गीतको नाममा जे पनि गाउने क्रम बढेको छ । तर, बासुदेबजीले लेख्नु भएका गीतहरू निकै राम्रा रहेछन्’, उहाँले भन्नुभयो ।
सङ्ग्रहमा रहेको नौ मध्यको एक गीत ‘सास रैछ सास…’को भिडियो सो कार्यक्रममा सार्वजनिक गरिएको थियो । सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा उत्तम केसी, भीमा मैनालीसहित विभिन्न कलाकारको अभिनय छ । मधुकर लोहनीले सङ्गीत गरेको यो गीतलाई उहाँले नै गाउनु भएको छ ।
सङ्ग्रहमा ‘माटो पार्खिँदैछ…’, ‘रोल्वालिङ खोली…’, ‘सुन साथी…’, ‘बुद्ध बन…’, ‘साउने झरी…’, ‘खरी झर्यो…’, ‘समय छ…’, ‘घाम छायाँ…’बोलका गीतहरू छन् । यी गीतहरूमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको सङ्गीत छ । यी गीतहरूमा मधुकरसहित राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले स्वर दिनुभएको छ ।
आफूले बिगतमा विभिन्न कवितासङ्ग्रहहरू ल्याए पनि गीतिसङ्ग्रह ‘घाम आउँछ छायाँ दिन’ यतीबेला बजारमा ल्याएको गीतकार बासुदेबले कार्यक्रममा बताउनुभयो । उहाँका गीतहरू माथि गीतकार डा. कृष्णहरि बराल, सङ्गीतकार शिलाबहादुर मोक्तान, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतले समीक्षा गर्नुभएको थियो ।