नेपालटारको महादेव खोलामा महानगरको ज्यादती, जोखिममा बस्ती

बजेटको दुरुपयोग गर्दै सडक विभागले निमार्ण गरेको पर्खाल भत्काउदै-बनाउँदै

काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाको समन्वयनको अभावका त्यस क्षेत्रका जनताले हैरानी व्यहोरेका छन् । विशेष गरी काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाको सिमानामा रहेको महादेव खोलामा पर्खाल लगाउने कुरामा दुवै नगरको समन्वयनको अभाव देखिएको हो । उक्त क्षेत्र काठमाडौं नगरपालिका १६ र तारकेश्वर नगरपालिका ११ मा पर्छ । सोही खोलामा सहरी विकास मन्त्रालयले एक वर्ष अगाडि पर्खाल लगाएको थियो । त्यसको ठिक एक वर्ष पछि काठमाडौं महानगरपालिकाले पनि उक्त खोलामा पर्खाल लगाई बाटो फराकिलो बनाउन थालेको छ । तर स्थानीयहरूले भने उक्त कार्यको विरोध गरेका छन् ।

महानगरले खोला मिचेर बाटो फराकिलो बनाउन खोजेको भन्दै स्थानीयले विरोध गरेका हुन । त्यस खोलाको छेउका पर्खाल लगाउँदा अर्को पट्टी बर्षायामका बाढी पस्ने जोखिम रहेको छ ।

स्थानीयले उक्त खोलामा पर्खाल निमार्ण तत्काल रोक्न माग गर्दै तारकेश्वर नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका थिए । नगरपालिकाले पर्खाल निमार्णको काम तत्काल रोक्न निर्देशन दिए पनि महानगरपालिकाले निमार्णको काम जारी राखेको छ ।

चुनावको मुखमा महानगरले बजेटको दुरुपयोग गरी आवश्यक नै नभएको स्थानमा उक्त पर्खाल बनाउन लागेको स्थानीयको आरोप छ । उक्त खोलाको छेउमा यसअघि सडक विभागले पर्खाल लगाएको थियो । तर उक्त पर्खाल भत्काएर महानगरपालिका फेरि अर्को पर्खाल बनाउन लागेको हो ।

Loading...
error: Content is protected !!