नेकपा एमालेले काठमाण्डौका १० वटै क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका लागि आकांक्षी उम्मेदवारको नाम सिफरिस गरेको छ । काठमाण्डौका १० मध्ये ५ ठाउँमा एकल उम्मेदवारको नाम सिफरिस हुदाँ क्षेत्र नः ६ वाट भने आधा दर्जन बढिको नाम सिफारिस भएको छ । सिफारिस भएकामध्ये धेरैलाई त आफ्नै पार्टीका कार्यकर्ताले समेत चिन्दैनन । तारकेश्वर खबरलाई स्रोतले दिएको जानकारी अनुसार काठमाण्डौ क्षेत्र नम्बर ६ मा एमालेको तीब्र बिबाद भएपछि नाम नसुनिएका ७ जनाको नाम पठाईएको हो । आधा दर्जन बढिको नाम सिफारिस हुदाँ १ दर्जन बढि एमालेका आकांक्षी भने यसबाट असन्तुष्ट बनेको स्थानीय एमाले नेताहरु नै बताउँछन ।
हाल सिफारिस भएकामध्ये योगेन्द्र संग्रौला यसअघि प्रदेश सांसद थिए । तर प्रदेश सांसद रहदाँ पार्टी र स्थानीय क्षेत्रको विकासमा कुनै काम नगरेको भन्दै सँगौलाको चर्को आलोचना हुने गरेको छ । प्रदेश कमिटी सदस्य समेत रहेका लेखनाथ फुयाल स्थानीय तहको निर्वाचनमा तारकेश्वरबाट मेयरको उम्मेदवार बन्ने आकांक्षा समेत राखेका थिए । तर टिकट नपाएपछि फुँयालले एमाले उम्मेदवारलाई नै हराउन हात धोएर लागेको चर्चा त्यतिबेला हुने गरेको थियो । यस्तै तारकेश्वर क्षेत्रबाटै माताप्रताप थापा र हरिशरण तिमिल्सिना, मिना थापाको नाम पनि सिफारिस भएको छ । यी तिनैजना स्थानीय मतदातामाझ खासै चिनिएका नाम होईनन । माताप्रताप थापा प्रहरीको जाँगिर पछि राजनीतिमा आएका हुन । उनिसँग राजनीतिको खास अनुभव नभएपनि प्रहरीको जाँगिर छाडेपछि बेला बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको फोटो फेसबुकमा हालेर स्थानीयमाझ चर्चामा छन । यस्तै अर्को हरिशरण तिमिल्सिना स्थानीय चुनावमा वडाध्यक्ष बन्न खोजेपनि टिकट नपाएका व्यक्ति हुन ।
उता टोखा क्षेत्रका कल्पना रिजाल, प्रेमराज सिलवाल पनि खासै चर्चाका उम्मेदवार नभएपनि सिलवाल तुलनात्मक रुपमा सिफारिस भएका ७ जना मध्ये बढि चर्चामा छन । काठमाण्डौका अधिकांश क्षेत्रमा एकल र केहिमा दुईंजनाको नाममात्रै सिफारिस हुदाँ काठमाण्डो ६ मा आधा दर्जन नाम सिफारिस हुनुका पछाडी प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेर जित्न सक्ने नेताको अभाव भएकाले रहर गर्ने सबैको नाम सिफारिस भएको बुझिएको छ ।