तारकेश्वर घटना बालाजुमा तनाव, कांग्रेस नेता दिपेश गम्भीर घाइते

काठमाडौँ – काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानीमा ट्रिपरको ठक्करबाट स्थानीय सविन फुयाँलको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । घटनाको सत्यतथ्य छानबिनको माग गर्दै बालाजु प्रहरीवृत अगाडि मृतकमा आफन्तहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठी चार्ज गरेपछि अवस्था तनावग्रस्त बनेको हो । प्रहरीको लाठी चार्जबाट नेपाली कांग्रेसका युवा नेता दिपेश थापा लगायतमा आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीका अनुसार थापालाई प्रहरीले पक्राउ गरि कुटपिट गरेका थिए । कुटपिटबाट थापाको टाउकोमा गम्भीर चोट लागेको छ । भने अन्य घाइतेहरुको अवस्था सामान्य छ । प्रहरीले घटनाको सत्यतथ्य लुकाउनका लागि आफूहरुको आन्दोलनमा हस्तक्षेप गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
घटना के हो ?

आइतबार राती करिब १० बजे चिसापानी पेट्रोलपम्प नजिक मोटरसाइकलमा सवार २३ वर्षीय फुयाँल ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

ट्रिपरले ठक्कर दिएको भनिए पनि उनको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनमा उत्रिएका स्थानीयले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । दुर्घटना सडकमा भएको भएपनि फुयाँल सडकभन्दा निकै पर रहेको बालुवाको थुप्रोमा छट्पट्याइरहेका भेटिएको स्थानीयले बताएका छन् । उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएकाले दुर्घटना मात्रै मृत्यु कारण नभएको स्थानीयको आशंका छ ।
प्रहरीले पनि घटनास्थलबाट रगतको टाटो भएको सावेलसमेत भेट्टाएको छ । घटना रहस्यमय हुनुमा सडकमा ट्रिपरसँग ठोक्किएको फुयाँलको मोटरसाइकल घटनास्थल भन्दा ठीक पारी पट्टीको डिपोभित्र भेटिनु पनि रहेको स्थानीयले बताएका छन् । सोहीस्थानमा ठक्कर दिने ट्रिपर पनि पार्क गरेर राखिएको उनीहरुको भनाइ छ ।

Loading...
error: Content is protected !!